बिश्व

इरानसम्बद्ध ह्याकरद्वारा अमेरिकाका औद्योगिक क्षेत्रमा अवरोध

एजेन्सी
२०८२ चैत्र २५ | मध्यान्ह ०२:१२ बजे

वासिंगटन डीसी । इरानसँग सम्बन्धित ह्याकरहरूले पछिल्ला हप्ताहरूमा अमेरिकाका तेल–ग्यास तथा पानी आपूर्ति सम्बन्धी विभिन्न औद्योगिक संरचनामा साइबर आक्रमण गरी अवरोध सिर्जना गरेका छन् । मंगलबार जारी संघीय चेतावनी र अनुसन्धानमा संलग्न स्रोतहरूलाई उद्धृत गर्दै यो जानकारी सार्वजनिक गरिएको हो ।

यो आक्रमणलाई इरानले अमेरिकाविरुद्ध सुरु गरेको साइबर अभियानको थप उग्र रूपका रूपमा हेरिएको छ । यी आक्रमणहरूले विशेषगरी औद्योगिक प्लान्टका सुरक्षा प्रणालीहरूलाई लक्षित गरेका छन् । यसले मानव सुरक्षामा समेत असर पार्न सक्ने जोखिम बढाएको छ । स्रोतहरूका अनुसार केही उद्योगहरूमा उत्पादन प्रक्रिया नै बन्द गर्नुपरेको छ र म्यानुअल रूपमा सञ्चालन गर्नुपरेको छ । यसका कारण केही कम्पनीहरूले आर्थिक क्षति पनि व्यहोरेका छन् ।

ह्याकरहरूले कतिपय अवस्थामा “वाइपर” नामक डाटा मेटाउने मालवेयर प्रयोग गर्ने प्रयास गरेका थिए । तर त्यसको पूर्ण प्रभाव स्पष्ट भइसकेको छैन । यस घटनापछि संघीय अनुसन्धान ब्युरो, गृह सुरक्षा मन्त्रालयअन्तर्गतको साइबर एजेन्सी लगायत निकायहरूले अमेरिकी महत्वपूर्ण पूर्वाधार सञ्चालकहरूलाई “तत्काल सतर्क” रहन चेतावनी दिएका छन् । उनीहरूले यो अभियान अमेरिकाभित्र “अवरोध सिर्जना गर्ने उद्देश्य” का साथ गरिएको बताएका छन् ।

यसैबिच, राष्ट्रपति डोनाल्ड ट्रम्पले सोही दिन इरानसँग दुई हप्ते युद्धविराममा सहमति भएको घोषणा गरेका थिए । विश्लेषकहरूका अनुसार प्रत्यक्ष सैन्य आक्रमण गर्न कठिन भएका अवस्थामा इरानले साइबर आक्रमणमार्फत असमान प्रतिक्रिया जनाउन खोजेको हुन सक्छ । विशेषज्ञहरूले इन्टरनेटसँग जोडिएका औद्योगिक प्रणालीहरू वर्षाैंदेखि जोखिममा रहेको चेतावनी दिँदै आएका छन् । सुरक्षा मापदण्ड अपनाएका कम्पनीहरूले जोखिम घटाएको भए पनि त्यसलाई बेवास्ता गर्ने संस्थाहरू अझै ठुलो खतरामा रहेको बताइएको छ ।

कमेन्टहरु