समाचार

इजरायलमा रहेका नेपालीलाई सुरक्षित र सतर्क रहन आग्रह दूतावासको विशेष अनुरोध

नवलपुर टुडे
२०८२ चैत्र २५ | बिहान ०६:१२ बजे

काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनाव र युद्धको परिस्थितिलाई मध्यनजर गर्दै इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकहरूका लागि एक अत्यन्त जरुरी सूचना जारी गरेको छ।

क्षेत्रमा विकसित भइरहेको गम्भीर सुरक्षा चुनौतीलाई ध्यान दिँदै दूतावासले सबै नेपालीहरूलाई संयमता अपनाउन र आफू बसोबास गरिरहेकै स्थानमा सतर्क एवं सुरक्षित रहन अनुरोध गरेको छ।

दूतावासले जारी गरेको निर्देशन अनुसार, नेपाली नागरिकहरूलाई इजरायल सरकारको होम फ्रन्ट कमाण्ड र अन्य आधिकारिक निकायहरूले जारी गरेका सूचना तथा निर्देशनहरू अनिवार्य रूपमा पालना गर्न भनिएको छ।

विशेषगरी, मोबाइलमा अलर्ट म्यासेज आएमा वा साइरन बजेमा हेलचेक्र्याइँ नगरी तुरुन्तै नजिकैको बम सेल्टरमा जान सुझाव दिइएको छ।

साथै, आफ्नो राहदानी, परिचयपत्र, सवारी चालक अनुमतिपत्र र बैंक कार्ड जस्ता महत्वपूर्ण कागजातहरू सधैं आफूसँगै राख्न पनि सूचित गरिएको छ।

यसका साथै, दूतावासले सामाजिक सञ्जालमा युद्धसम्बन्धी भिडियोहरू अनावश्यक रूपमा सेयर नगर्न, घटनाक्रमको बारेमा नियमित जानकारी राखिराख्न र आफ्ना साथीभाइ तथा परिवारसँग निरन्तर सम्पर्कमा रहन आग्रह गरेको छ।

आपतकालीन अवस्थामा सहयोगका लागि दूतावासले दुईजना कुटनैतिक अधिकारीहरूको सम्पर्क नम्बर समेत सार्वजनिक गरेको छ।

जसमा द्वितीय सचिव कुमारबहादुर श्रेष्ठ (+972 535360748) र तृतीय सचिव सञ्जयकुमार शाह (+972 54 558 2077) रहेका छन्।

FB IMG 1775600545822

कमेन्टहरु