एक वर्षमा सात हजार ५४७ विपद्का घटना


काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, एक वर्षको अवधिमा देशभर सात हजार ५४७ विपद्का घटना भएका छन् । विपद्का कारण १३ हजार ५०४ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
बाढी, पहिरो, भारी वर्षा, चट्याङ, वन डढेलो, हावाहुरी, हिउँ पहिरो जस्ता विपद् र विपद्जन्य घटनाका कारण ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । सामान्य सावधानी अपनाउँदा समेत रोक्न सकिने आगलागीको घटना सबैभन्दा धेरै रहेको प्राधिकरणको विवरणमा उल्लेख छ ।
झन्डै एक वर्षको अवधिमा तीन हजार ६५२ वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर मात्रै १०४ जनाको अकालमा ज्यान गएको छ । ५६३ जना घाइते हुँदा चार हजार १८२ परिवार प्रत्यक्ष रूपमा पीडित भएका छन् ।
बाढीका कारण मात्रै ३२८ घटनामा ३९ जनाको निधन भएको छ । बाढीमा परेर २७ जना बेपत्ता हुँदा १४ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार, ६२१ पहिरोका घटनामा परेर ७६ जनाको ज्यान गएको छ । यस्तै, भारी वर्षाका ४४६ घटनामा परेर सातजनाको ज्यान गयो भने २० जना घाइते भए ।
त्यस्तै, ४१९ चट्याङका कारण ४८ जनाको ज्यान गयो । कुल ३१२ जना घाइते हुँदा ५२२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भए । हावाहुरीका ४७७, वन डढेलाका ३२४, जनावर आक्रमणका ५०९ तथा लेक लाग्नुका १३१ घटना भएका छन् ।
प्राधिकरणका अनुसार, यो विवरण गत वैशाख १ गतेदेखि यही चैत २४ गतेसम्मको हो । एक वर्षको अवधिमा विपद्मा मात्रै ४९० जनाको ज्यान जाँदा ३८ जना बेपत्ता भएका छन् । विपदका कारण एक हजार ९६५ जना घाइते भएका छन् ।






















