भारतमै सबैभन्दा चाँडो १ हजार करोड कमाउने फिल्म बन्यो धुरन्धर २


मुम्बई । आदित्य धरको निर्देशनमा बनेको चलचित्र ‘धुरन्धर: द रिभेन्ज’ ले भारतीय सिनेमाको इतिहासमा अहिलेसम्मकै ठुलो रेकर्ड कायम गरेको छ। प्रदर्शनको छोटो समयमै यस चलचित्रले भारतमा मात्रै १ हजार करोड रुपैयाँको नेट कलेक्सन गरेर नयाँ कीर्तिमान रचेको हो। फिल्मको विश्वव्यापी व्यापार अहिले १६२२ करोड रुपैयाँभन्दा माथि पुगिसकेको छ, जसले गर्दा यसलाई भारतीय सिनेमाको अल टाइम ब्लकबस्टर मानिएको छ।तेस्रो सातामा प्रवेश गर्दा पनि फिल्मको कमाईमा कुनै सुस्तता आएको छैन।
१६ औँ दिनदेखि १८ औँ दिनसम्मको तेस्रो सप्ताहन्तमा मात्रै फिल्मले ८० करोड रुपैयाँ थपेको छ। भारतमा यसको कुल नेट कलेक्सन १०४१ करोड र ग्रस कलेक्सन १२२८ करोड पुगेको छ। यो फिल्मले पहिलो पार्टको लाइफटाइम रेकर्डलाई जम्मा १० दिनमै उछिनेर आफ्नो प्रभुत्व जमाएको हो। १००० करोडको आँकडा सबैभन्दा छिटो पार गर्ने विश्वव्यापी भारतीय फिल्मको ताज पनि अब यसैको शिरमा सजिएको छ।
स्वदेशमा मात्र नभई विदेशमा पनि धुरन्धरले विदेशी फिल्महरूलाई कडा टक्कर दिइरहेको छ। ओभरसिज मार्केटमा ३९४ करोड कमाइसकेको यस फिल्मले उत्तर अमेरिकामा २५ मिलियन डलरको आँकडा पार गर्ने पहिलो भारतीय फिल्मको रेकर्ड बनाएको छ।
त्यस्तै, जर्मनीमा १ मिलियन युरोभन्दा बढी कमाउने पहिलो भारतीय चलचित्र बनेर यसले युरोपेली बजारमा पनि आफ्नो बलियो उपस्थिति देखाएको छ। फिल्मको मेकिङ, एक्सन र कथावस्तुलाई विश्वस्तरको सिनेमासँग तुलना गर्न थालिएको छ।
गत वर्षको डिसेम्बरमा रिलिज भएको पहिलो पार्टको अपार सफलतापछि मार्च १९ मा आएको यो सिक्वेलले दर्शकको अपेक्षाभन्दा निकै राम्रो प्रदर्शन गरेको हो। व्यापार विज्ञहरूका अनुसार बजारमा अहिले यसलाई टक्कर दिने अर्को कुनै ठूलो फिल्म नभएकाले धुरन्धरको यो विजय यात्रा अझै लामो समयसम्म जारी रहने देखिन्छ।






















