मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

रासस
२०८२ चैत्र २४ | मध्यान्ह ०२:१२ बजे

महोत्तरी । जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको छ ।
प्रहरीले हालसम्म मृतक तथा घाइतेमध्ये कसैको नाम, थर, वतन खुलाएको छैन भने मोटरसाइकल पनि पूर्ण रुपमा जलेर नम्बरप्लेट समेत नदेखिने अवस्थामा रहेको जनाइएको छ । आज बिहान विपरीत दिशाबाट आएका ती मोटरसाइकल जलेश्वर बर्दिबास सडकखण्डको एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा एकापसमा ठोक्किएका थिए । ठोक्किएर दुवै मोटरसाइकलमा आगलागी हुँदा तीन जना विद्यार्थीको घटनास्थलमै तत्काल मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु एसइई परीक्षा दिएर फर्किएका विद्यार्थी रहेको बताइएको छ ।घटनामा तीन जनामध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

















