२०१६ पछि पहिलो पटक चीनको भ्रमणमा पुगे ताइवानका प्रतिपक्षका नेता


ताइपेई । ताइवानको प्रमुख विपक्षी दल कुओमिन्ताङ (केएमटी) नेतृ चेंग लि वुन चीन पुगेकी छन् । सन २०१६पछि पहिलो पटक पार्टीको वर्तमान नेतृत्वले चीन भ्रमण गरेको हो । गत वर्ष केएमटी अध्यक्ष बनेकी चेङले चिनियाँ राष्ट्रपति सि जिनपिंगको निमन्त्रणालाई खुसीसाथ स्वीकार गरेको बताउँदै आफू शान्तिको पुल बन्न चाहने बताएकी छिन् । बेइजिङले “एक चीन” नीतिलाई नमानेको भन्दै २०१६ मा साई इंग वेन नेतृत्वको डेमोक्रेटिक प्रोगेशिभ पार्टी सत्तामा आएपछि ताइवानसँगका केही औपचारिक संवादहरू बन्द गरेको थियो ।
चीनले ताइवानलाई आफ्नो अलग भएको प्रान्त मान्दै आएको छ र आवश्यक परे बल प्रयोग गर्नेसमेत संकेत दिँदै आएको छ। तर धेरै ताइवानी नागरिक आफूलाई स्वतन्त्र राष्ट्रको रूपमा हेर्छन् । यता, अमेरिकाले औपचारिक रूपमा चीनसँग सम्बन्ध राखे पनि ताइवानको प्रमुख हतियार आपूर्तिकर्ता रहँदै आएको छ । हालै अमेरिकी द्विदलीय प्रतिनिधिमण्डलले ताइपेइ भ्रमण गर्दै ४० अर्ब डलरको रक्षा बजेट पारित गर्न दबाब दिएको थियो, तर त्यो प्रस्ताव अझै अड्किएको छ ।

















