समाज

दश वर्ष दुवइमा मजदुरी गरेर फर्किएका टीकाले चितवनको मायाँटारमा सुरु गरेको घरबासमा पर्यटकको आकर्षण

रासस
२०८२ चैत्र २४ | मध्यान्ह ०१:१२ बजे

चितवन, चैत २४। दश वर्ष दुवइमा मजदुरी गरेर फर्कनुभएका टीकाबहादुर गुरुङले मायाँटारमा घरबास सुरु गरे पछि विदेश फर्कने सोच बदल्नुभएको छ । इच्छाकामना गाउँपालिका–३ मायाँटारमा बाटो छेउमा आफैँ वसेको घरबाट उहाँले घरबास सुरु गर्नुभएको हो ।

विसं १९७८ मा बनेको पुरानो सैलीको घरमा बाटो हिँड्नेहरुलाई बास दिने चलन थियो । यही बाटो हुँदै उपरदाङ्गढी, शक्तिखोर, हुग्दी खोला, इच्छाकामना मन्दिर, फिस्लीङ्लगायतका ठाउँमा हिडेर जानेहरु रातमा यही बास बस्ने गर्थे । गुरुङले भन्नुभयो, “बाटोको घर भएकाले यही बाटो हुँदै हिँडडुल गर्नेहरुको बस्ने थलो हो यो”, उहाँले थप्नुभयो, “हामीले पहिला देखिनै खान खान दिन्थ्यौँ, मान्छे सुताउँथ्यौँ ।”

दश वर्षको वैदेशिक रोजगारपछि फर्कनुभएका गुरुङले चार वर्ष अघि यो घरलाई मर्मतसम्भार गरेर घरबासका लागि कोठा बनाउनुभयो । दुवईमा होटलमा काम गरेको अनुभव लिनुभएका उहाँले फेरि फर्किएर जानुभन्दा यही केही गर्ने सोच बनाउनुभयो । दुवईमा मासिक रु एक लाख कमाउने गुरुङ यहाँ तीन जनालाई रोजगारी दिएर रु ८० हजार हाराहारी कमाई हुन थालेपछि विदेश जाने योजना स्थगित गरेर यही घरबास सञ्चालन गरेको बताउनुहुन्छ । साथी भाइको सुझावलाई मनन गर्दै उहाँले आफ्नो पुरानो घरमा घरबास बनाउनुभयो । उहाँले भन्नुभयो, “यही घरबाट सुरु गरेको पहिलो पिँढीमा दुईवटा कोठा र पछि दुईवटा गरेर चारवटा कोठा तयार भयो ।” यही घरमा उहाँहरुको परिवार बस्थ्यो ।

जिल्लाको पहाडी भूभागमा घरबास बने पछि त्यहाँ जानेहरुको चहलपहल वढ्न थाल्यो । गर्मीको मौसममा जानेहरु बढी हुन थाले । बिहानै घाम लाग्ने भएकाले जाडो महिनामा पनि रात बिताउन जानेहरु बढ्न थालेपछि आफूले घरबास विस्तार गरेको उहाँ बताउनुहुन्छ । अहिले घर बाहिर पनि कोठा बनाउनुभएको छ । एघार वटा कोठा छन् । तीमध्ये चार वटामा सँगै शौचालय पनि छ । उहाँले भन्नुभयो, “पाहुनाको मागअनुसार विस्तार गर्दै छौँ ।” हिजो मायाँटार सुगम जिल्ला भएर पनि कर्णालीजस्तो रहेको भन्दै उहाँले बाटो, बत्ती सबै भए पछि अब मायाँटार पर्यटकीय गन्तव्य वन्न सकेको उहाँ बताउनुहुन्छ । दुई वर्षयता मायाँटारमा बिजुली बत्ती पुगेको छ । त्यस अघि पाहुनालाई टुकी र सोलारको उज्यालोमा राख्ने गरेको उहाँ बताउनुहुन्छ । मायाँटार चिनाउन चितवनका पत्रकारको भूमिका रहेको भन्दै उहाँले भन्नुभयो, “मायाँटार मायाँटार बन्नुमा पत्रकारको ठूलो हात छ । समाचारकै कारण यहाँ बिजुली आयो र घुम्ने ठाउँहो भन्ने प्रचार भयो ।”

मायाँटार घुम्न आउनेहरुका लागि यहाँको रमणीय वातावरणसँगै नजिकै रहेको बालगौरी पाथीभरा मन्दिर प्रमुख गन्तव्य हो । सेतो पहरा गुफा यहाँबाट १५ मिनेटको दूरीमा छ । तीन किलोमिटर पर पर्यटकीय गन्तव्य रिग्दी खोला छ । जहाँ चिसो पानीमा नुहाउन र असला माछा पाइन्छ । त्यस्तै उपरदाङ्गढी यहाँबाट नजिकै पर्दछ । प्रचार हुँदै गए पछि पाहुनाको चाप हुन थालेको छ । एक रातमा ४० जनासम्म राख्ने क्षमता आफूसँग रहेको भन्दै उहाँले अहिले वरपर अरुले पनि घरबास बनाउन थालेको बताउनुभयो । बिदाको दिनमा पहिलेनै फोनमार्फत बुकिङ हुने गरेको उहाँ बताउनुहुन्छ । आफूले स्थानीय उत्पादित खानेकुरा पाहुनालाई खुवाउने गरेको गुरुङले बताउनुभयो । त्यही उत्पादन भएको फर्सी, स्कुस, निगुरो, लोकल कुखुरा, बोका, खसीजस्ता स्थानीय उत्पादनमा पाहुना रमाउने गर्दछन् ।

चितवनको तराई क्षेत्रमा अत्यधिक गर्मी हुँदा पनि त्यहाँ सिरक ओढेर सुत्नुपर्छ । यहाँ चितवनसहित काठमाडौँ, मकवानपुर, पर्सा, नवलपरासी, कास्कीलगायतका धेरै जिल्लाबाट आन्तरिक पर्यटक घुम्न आउने गर्छन् । यो समुन्द्रिक सतहबाट करिब तीन हजार ५०० मिटर उचाइमा छ । भरतपुरबाट एक घण्टा ३० मिनेट हाराहारीको यात्रामा यहाँ पुग्न सकिन्छ । शक्तिखोर हुँदै त्यहाँ पुग्ने सडक कालोपत्रे छ । यही सडक हुँदै पृथ्वी राजमार्गको धादिङको हुग्दी खोला, धादिङ र चितवनको सिमानामा पर्ने मौवा खोला र चितवनको फिस्लिङमा पुग्न सकिन्छ । राजमार्ग तर्फबाट पनि त्यतीनै समयमा मायाँटार आउन सकिन्छ ।

कमेन्टहरु