अमेरिकाबाट डिपोर्ट गरिएका आप्रवासी स्वीकार गर्न सहमत भयो कङ्गो


वासिङ्टन डिसी । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो)ले अमेरिकाबाट डिपोर्ट गरिएका कंगोली नागरिक बाहेकका आप्रवासीहरूलाई स्वीकार गर्ने सहमति जनाएको छ । अधिकारीहरूका अनुसार यो सम्झौता यसै महिनादेखि लागू भएको हो ।
सरकारले कति सङ्ख्यामा डिपोर्टीहरू स्वीकार गरिनेछ भन्ने खुलाएको छैन । अमेरिकाले आप्रवासन नियन्त्रण कडा बनाउने नीति अन्तर्गत यसअघि पनि अफ्रिकाका विभिन्न देशहरूमा डिपोर्टीहरू पठाउँदै आएको छ ।
सरकारका अनुसार तेस्रो देशका आप्रवासी स् वीकार गर्ने निर्णय मानव मर्यादा, अन्तर्राष्ट्रिय एकता र आप्रवासीहरूको अधिकार संरक्षणप्रति कंगोको प्रतिबद्धतासँग मेल खानेछ । यद्यपि, कंगोले यो कार्यक्रम स्थायी बसोबास योजना नभएको र आप्रवासन नीतिको आउटसोर्सिङ पनि नभएको स्पष्ट पारेको छ ।
अमेरिकाको विदेश मन्त्रालयले यस विषयमा कूटनीतिक विवरणमा टिप्पणी नगर्ने जनाए पनि अवैध आप्रवासन अन्त्य र सीमा सुरक्षा सुदृढ गर्ने प्रतिबद्धता दोहोर्याएको छ । डोनाल्ड ट्रम्पको प्रशासनले सत्तामा आएपछि तेस्रो देशहरूमा डिपोर्ट गर्ने नीति अपनाएको छ, जसको मानव अधिकार समूहहरूले आलोचना गर्दै यसको वैधानिकतामाथि प्रश्न उठाएका छन्।
यस पहलमा कंगोसँगै इस्वाटिनी, घाना र दक्षिण सुडानजस्ता देशहरू पनि सहभागी भएका छन् । गत साता विभिन्न अफ्रिकी देशका आठ जना आप्रवासीलाई युगान्डा पठाइएको थियो । अमेरिकी सिनेटको वैदेशिक सम्बन्ध समितिको प्रतिवेदनअनुसार, जनवरी २०२६ सम्म यस्ता तेस्रो देश डिपोर्ट कार्यक्रममा ४० मिलियन डलरभन्दा बढी खर्च भएको अनुमान गरिएको छ, यद्यपि कुल खर्च स्पष्ट छैन ।






















