समाज

किम्बु बिरुवाको माग बढ्दो

रासस
२०८२ चैत्र २४ | मध्यान्ह ०१:१२ बजे

चितवन । रेशमकीरा पालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु पछिल्लो समय रेशम खेती घट्दै जाँदा वैकल्पिक उपयोगका कारण फेरि चर्चामा आउन थालेको छ । हाल किम्बुका बुटाको वैकल्पिक प्रयोग बढ्न थालेको छ । अहिले किम्बुका बुटा व्यावसायिक होटेल, रेस्टुराँ र पर्यटन क्षेत्रमा सजावटी बिरुवाका रूपमा प्रयोग हुन थालेका छन् भने पशुपालन गर्ने किसानहरूले यसलाई घाँसका रूपमा समेत उपयोग गर्न थालेपछि यसको माग बढ्दो छ ।

चितवनको भण्डारास्थित व्यावसायिक कीट विकास फार्ममा उत्पादित किम्बुका बिरुवा देशका विभिन्न जिल्लामा यिनै प्रयोजनका लागि पठाइने गरिएको छ । कार्यालय प्रमुख सुरुची त्रिपाठीका अनुसार चालू आर्थिक वर्षमा कार्यालयले एक लाख ८० हजारभन्दा बढी किम्बुका बिरुवा उत्पादन गरेको छ । ती बिरुवा किसानलाई प्रतिबिरुवा रु. पाँचका दरले बिक्री गरिँदै आएको उनले जानकारी दिइन् । यस वर्ष मधेस तथा पहाडी जिल्लाबाट समेत किम्बु बिरुवाको माग आएको उनले बताइन् । पछिल्लो समय रेशमकीरा पालनका लागि समेत बिरुवाको माग पुनः बढ्न थालेको छ । ओखलढुङ्गा, सिन्धुलीलगायतका जिल्लाबाट किम्बु बिरुवाको माग आएको उनले जानकारी दिइन् ।

त्यसैगरी, पर्यटन क्षेत्रबाट पनि किम्बु बिरुवाको माग बढ्दो रहेको छ । होटेल तथा रिसोर्टहरूले छिटो हुर्कने, राम्रो छहारी दिने र फल लाग्दा चराचुरुङ्गी आकर्षित हुने भएकाले वातावरणीय सौन्दर्यका लागि किम्बु रोप्ने चलन बढेको उनले बताइन् । उनले भनिन्, “होटेल तथा रिसोर्टहरूबाट यसको माग बढेको छ, किनभने यो बिरुवा छिटो हुर्कन्छ । फल लाग्ने समयमा चराचुरुङ्गी आकर्षित हुने भएकाले रेस्टुराँ परिसरमा रोप्दा राम्रो छहारीका साथै आउने पाहुनाहरूले चराहरू अवलोकन गर्न सक्ने वातावरण सिर्जना हुन्छ । यसै कारण किम्बु रोप्ने प्रचलन बढ्दै गएको छ ।”

किम्बुको फलको पनि बजारमा उत्तिकै माग रहेको छ । यसको फलमा औषधीय गुण पाइने र वाइन, जाम तथा जुस बनाउन प्रयोग गर्न सकिने भएकाले केही उद्योगहरूले समेत फलको माग गर्ने गरेका छन् । उनका अनुसार किम्बु फलले रगतमा हिमोग्लोबिनको मात्रा बढाउन सहयोग गर्ने भएकाले स्वास्थ्यका हिसाबले समेत उपयोगी मानिन्छ । “स्वास्थ्यका हिसाबले किम्बु अत्यन्त राम्रो फल हो,” उनले भनिन् । उनले नेपालमा पाइने बेरी प्रजातिमध्ये किम्बु पनि एक रहेको बताइन् । 

किसानहरूले यसलाई पशुका लागि घाँसका रूपमा समेत प्रयोग गर्ने गरेको उनले बताइन् । विशेषगरी अन्य घाँस अभाव हुने समयमा यसको महत्त्व अझ बढ्ने गरेको छ । हाल फार्मबाट कान्वा–२ जातको किम्बु बिरुवा उत्पादन गरी वितरण गरिँदै आएको छ । यो बिरुवा गमलादेखि खेतसम्म सजिलै रोप्न सकिने प्रमुख त्रिपाठीले बताइन् ।

हिउँदको समयमा बिरुवा कटिङ सुरु गरी रोपाइँ गरिन्छ र जेठ महिनादेखि वितरण गरिने गरिएको छ । वर्षायाममा सार्न उपयुक्त हुने भए पनि पानीको स्रोत उपलब्ध भए अन्य समयमा पनि किम्बु रोप्न सकिने उनले जानकारी दिइन् ।

कमेन्टहरु