शिक्षा

बाजुरामा एसइईका उत्तर पुस्तिका परीक्षा केन्द्रमै धमाधम परीक्षण गरिँदै

नवलपुर टुडे
२०८२ चैत्र २४ | बिहान १०:१२ बजे

बाजुरा, चैत २४ । बाजुरामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तर पुस्तिका परीक्षण कार्य परीक्षा केन्द्रमै धमाधम जाँच्ने कार्य चलेको छ । नेपालको शैक्षिक इतिहासमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको गतिलाई सुधार गर्ने उद्देश्यले ल्याइएको नयाँ व्यवस्था बाजुरामा समेत सफलतापूर्वक कार्यान्वयनमा आएको हो ।

‘माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन,व्यवस्थापन तथा उत्तर पुस्तिका परीक्षण निर्देशिका, २०८२’ लागू भएसँगै यस वर्षदेखि उत्तर पुस्तिका जाँच्नका लागि अन्य जिल्ला वा केन्द्रमा पठाउनुपर्ने झन्झटको अन्त्य समेत भएको छ ।

बाजुराका १७ वटै परीक्षा केन्द्रमा परीक्षा सम्पन्न विषयको परीक्षण कार्य भइरहेको छ । अङ्ग्रेजी र नेपाली विषयको परीक्षा सकिए लगत्तै परीक्षण थालनी गरिएको थियो । दुई विषयको उत्तर पुस्तिका परीक्षण सम्पन्न पछि गणित र विज्ञापन विषयको परीक्षण कार्य चलेको छ ।

यस वर्ष बाजुराबाट नियमित तर्फका २ हजार १२६ र ग्रेडवृद्वी तर्फका ३ सय गरेर कुल २ हजार ४२६ विद्यार्थी एसइईमा सहभागी भएका छन्।उत्तर पुस्तिका परीक्षण कार्य मर्यादित र व्यवस्थित ढङ्गले चलिरहेको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका प्रमुख लाल बहादुर विष्टले बताए ।

शैक्षिक इतिहासमा नयाँ अभ्यास व्यवस्थित ढङ्गले अघि बढेको छ । ‘बाजुरामा उत्तर पुस्तिका जाँच्ने कार्य व्यवस्थित र सुरक्षा निगरानीमा चलेको छ । कुनै समस्या देखिएको छैन । नयाँ व्यवस्थाले थप जिम्मेवार बनाएको छ ।

उनले भने, ‘नयाँ व्यवस्थाले चुनौती सँगै समन्वयकारी भूमिकामा राखेको छ । यस्तो व्यवस्थाले समयमै नतिजा प्रकाशन भई विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न थप सहज हुने छ ।’

जिल्लाका सबै परीक्षा केन्द्रमै एसइईका उत्तर पुस्तिका परीक्षण कार्य धमाधम भइरहेको जिल्ला परीक्षा समन्वय समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । बोर्डले नयाँ व्यवस्था गरेसँगै जिल्लामा पनि प्रभावकारी रूपमा कार्यान्वयन भइरहेकाले उत्तर पुस्तिका परीक्षणमा कुनै समस्या नभएको बताए ।

बाजुरामा २०८१ सालको एसइई परीक्षामा दुई हजार २१६ जना सहभागी भएकामध्ये १ हजार १९९ जना उत्तीर्ण भएका थिए ।त्यस्तै २०८० सालमा दुई हजार ८३४ जना विद्यार्थी एसइईमा सहभागी भएकामध्ये १ हजार पाँच जना मात्र उत्तीर्ण भएका थिए ।

 
 

कमेन्टहरु