अपराध

रूपन्देहीको रोहिणीमा लागुऔषध कारोबारी पक्रन चलायो गोली

नवलपुर टुडे
२०८२ चैत्र २४ | बिहान ०६:१२ बजे

रूपन्देही । प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको छ । रूपन्देहीको रोहिणी गाउँपालिका-४ मा प्रहरीले गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार कोटहवाबाट छिपागढ गइरहेको तीनजना सवार यूपी५६एफ ९९०१ नम्बरको मोटरसाइक चेकजाँच गर्न खोज्दा भागेका थिए । त्यसक्रममा उनीहरूले प्रहरीमाथि ढुंगामुढा गर्दै भाग्न खोजेपछि गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिएका छन् ।

प्रहरीले सुरुमा हवाई फायर गरेकोमा आक्रमण हुन थालेपछि घुँडामुनि गोली हानेको हो । त्यसक्रममा रुपन्देहीको रोहिणी गाउँपालिका-२ खुरुहुरिया बस्ने विशाल यादवको बायाँ खुट्टामा गोली लागेको छ । उनको भीम अस्पताल भैरहवामा उपचार भइरहेको डीएसपी चन्दले जानकारी दिए । उक्त घटनामा भारतको महाराजगंज जिल्ला पर्सामालिक ग्राम बिसुनपरवाका १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेयलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट फेनागन ११०० एम्पुल, डाइजोपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

rupandehi-police-1775496308.jpg

कमेन्टहरु