प्रबास

इरानसँग दूरी बढाउने प्रयासमा छ उत्तर कोरिया ?

एजेन्सी
२०८२ चैत्र २३ | मध्यान्ह ०२:१२ बजे

सोल, चैत २३। दक्षिण कोरियाको गुप्तचर निकायले उत्तर कोरियाले परम्परागत रूपमा मैत्री सम्बन्ध रहेको इरानसँग दूरी कायम गर्ने प्रयास गरिरहेको हुनसक्ने जनाएको छ ।दक्षिण कोरियाली सांसद पार्क सन–वोनले सोमबार नेशनल इन्टेलिजेन्स सर्भिस (एनआईएस) द्वारा आयोजित संसदीय ब्रिफिङमा सहभागी भएपछि यस्तो जानकारी दिएका हुन् । उनका अनुसार, हालसम्म उत्तर कोरियाले इरानलाई कुनै हतियार वा सामग्री उपलब्ध गराएको प्रमाण भेटिएको छैन ।

पार्कले प्योङयाङले दूरी कायम गर्न खोजेको सङ्केतहरू देखिएका बताएका छन् । अमेरिका–इजरायल आक्रमणमा इरानका पूर्व सर्वोच्च नेता आयतुल्ला अली खामेनी मारिँदा उत्तर कोरियाले शोक सन्देश नपठाएको समेत बताएका छन् । उनले एनआईएसलाई उद्धृत गर्दै उत्तर कोरियाले नयाँ नेताका रूपमा मोज्तबा खामेनीलाई बधाई पनि नदिएको बताएका छन् ।

पार्कका अनुसार यो कदम मे महिनामा हुने भनिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी जिनपिङ बिचको शिखर बैठक अगाडि नयाँ कूटनीतिक अवसर सुरक्षित गर्न गरिएको प्रयास हुनसक्छ ।

चीन उत्तर कोरियाको निकटतम साझेदारमध्ये एक हो । अर्का सांसद ली सियोङ–क्वोनले पनि उत्तर कोरियाले उक्त बैठकअघि ट्रम्पको प्रत्यक्ष आलोचना गर्नबाट टाढा रहने देखिएको बताएका छन् ।

कमेन्टहरु