तेल उत्पादन बढाउन सहमत भए ओपेक प्लस देशहरू


रियाद । प्रमुख पेटोलियम निर्यातकर्ता देशहरूको संगठन ओपेक र समूह बाहिरका अन्य ठुला तेल उत्पादकहरू (ओपेक प्लस) ले कच्चा तेलको उत्पादन बढाउने सहमति गरेका छन् ।मे महिनाका लागि दैनिक २ लाख ६ हजार ब्यारेलले तेल उत्पादन कोटा बढाउने सहमति भएको छ । तर, यो वृद्धि धेरै हदसम्म प्रतिकात्मक मात्र भएको बताइएको छ । अमेरिका र इजरायलले इरानमा सुरु गरेको युद्धका कारण ओपेकका प्रमुख सदस्य राष्ट्रहरू उत्पादन बढाउन असमर्थ छन् ।
यस युद्धले फेब्रुअरी अन्त्यदेखि विश्वकै महत्त्वपूर्ण तेल मार्ग स्ट्रेट अफ हर्मुजलाई प्रभावकारी रूपमा अवरुद्ध बनाएको छ । यसको प्रत्यक्ष असर साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत र इराकजस्ता ओपेकका सदस्य राष्ट्रहरूको तेल निर्यातमा परेको छ ।
आइतबार जारी विज्ञप्तिअनुसार ओपेक प्लसका आठ सदस्य देशहरू साउदी अरेबिया, रुस, इराक, युएई, कुवेत, काजकस्तान, अल्जेरिया र ओमानले भर्चुअल बैठकमार्फत उत्पादन बढाउने निर्णय गरेका हुन् । ‘बजारको अवस्थालाई नजिकबाट निगरानी गर्दै स्थिरता कायम राख्न निरन्तर प्रयास जारी राखिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
इरान युद्धका क्रममा दुवै पक्षले ऊर्जा पूर्वाधारलाई निशाना बनाइरहेका छन् । क्षतिग्रस्त पूर्वाधार संरचनालाई पूर्ण क्षमतामा फर्काउन निकै खर्चिलो र समय लाग्ने प्रक्रिया हुने भएकाले समग्र आपूर्तिमा असर पर्ने जनाइएको छ ।
यद्यपि, उत्पादन वृद्धिको यो निर्णय स्ट्रेट अफ हर्मुज बन्द हुँदा अवरुद्ध भएको आपूर्तिको दुई प्रतिशतभन्दा कम मात्र हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यो मार्ग पुनः सञ्चालन भएपछि ओपेक प्लसले उत्पादन बढाउन तयार रहेको सङ्केत भने दिएको छ ।
युद्ध र स्ट्रेट अफ हर्मुज बन्द हुँदा विश्व बजारमा कच्चा तेलको भाउ चार वर्षकै उच्च तहमा पुगेर तल आएको छ । स्ट्रेट अफ हर्मुजबाट ढुवानी ठप्पको अवस्था मध्य मे सम्म कायम रहेमा तेलको मूल्य १५० डलरभन्दा माथि पुग्न सक्ने अमेरिकी लगानी बैंक जेपी मोर्गनले दिएको छ । यो भनेको अहिलेसम्मकै उच्च तह हो ।






















