पूँजीबजार सुधारका लागि ब्रोकर एशोसिएशनले बुझायो अर्थमन्त्रीलाई ६ बुँदे मागपत्र


काठमाडौं, चैत २३। स्टक ब्रोकर एशोसिएशन अफ नेपालले पूँजीबजारमा देखिएका विद्यमान समस्याहरू समाधानका लागि अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै ६ बुँदे मागपत्र बुझाएको छ । एशोसिएशनका महासचिव भक्तिराम घिमिरेद्वारा हस्ताक्षरित पत्रमा हाल बजारमा ५६ लाखभन्दा बढी लगानीकर्ता र ५२ वटा ब्रोकरहरू सक्रिय रहेको अवस्थामा नयाँ सरकार र अर्थमन्त्रीबाट ठूलो आशा राखिएको उल्लेख गरिएको छ । धितोपत्र दलाल व्यवसायीहरूले भोग्दै आएका समस्याहरू समाधान भएमा मात्र पूँजीबजारको विकास हुने र लगानीकर्ताको मनोबल बढ्ने विश्वास एशोसिएशनले व्यक्त गरेको छ ।
सुधारका लागि अघि सारिएका मागहरूमा पूँजीबजार सुधार कार्यदलले दिएका तर हालसम्म कार्यान्वयन हुन बाँकी सुझावहरूलाई तत्काल लागू गर्नुपर्ने विषयलाई प्राथमिकता दिइएको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूलाई पूँजीबजारमा सहज रूपमा प्रवेश र बहिर्गमनको व्यवस्था मिलाउन तथा शेयर खरिद गरेको ६ महिनापछि मात्र बिक्री गर्न पाउने हालको प्रावधान हटाउन माग गरिएको छ । साथै, गैर आवासीय नेपालीहरूलाई पनि दोस्रो बजारमा सहज रूपमा शेयर कारोबार गर्न पाउने वातावरण बनाउन एशोसिएशनले सरकारसँग आग्रह गरेको छ ।

















