उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत विजयी


विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनीसँग नवीन रिजाल प्रतिस्पर्धामा थिए । राउतले कुल १४२ मत प्राप्त गर्दा रिजालले ५८ मत मात्र पाए ।
आठ वर्षअघि मोरङ व्यापार संघको कार्यकारिणी सदस्य निर्वाचनमा भोगेको हारको बदला राउतले यसपटक लिएका छन् । तीन वर्षअघि झापामा निर्विरोध चयन भएका राउतलाई यसपटक भने प्रतिस्पर्धाको सामना गर्नुपरेको थियो । मत परिणामअनुसार, वस्तुगततर्फ राउतले ११ र रिजालले ६ मत पाए । जिल्ला–नगर संघतर्फ राउतले २४ मत ल्याउँदा रिजालले १३ मत पाए भने एसोसिएटतर्फ राउतले १०७ मत प्राप्त गर्दा रिजालले ३९ मतमा सीमित भए ।
राउतको समूहबाट जिल्ला–नगर उपाध्यक्षमा झापाका ऋषिराज तिम्सिना, वस्तुगत उपाध्यक्षमा विराटनगरका राजन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा रवीन दाहाल निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल पनि निर्विरोध चयन भए । एसोसिएट सदस्यतर्फ देवकीनन्दन अग्रवाल र भविषकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी जिल्ला–नगर सदस्यमा कृष्णप्रसाद रिजाल, राजु ढुंगाना, राजीव, जयप्रकाश शर्मा, हर्कबहादुर श्रेष्ठ र नवीनकुमार चौधरी विजयी भएका छन् । वस्तुगततर्फ सुवास आचार्य र दीपक पाण्डे निर्वाचित भएका छन् । महासंघको नेतृत्व चयनका लागि कुल २०५ मतदाताले मतदान गरेका थिए, जसमा जिल्ला–नगर संघबाट ३८, वस्तुगत संघसंस्थाबाट १९ र एसोसिएटतर्फ १४८ मतदाता सहभागी थिए ।






















