शहीद सुरज शाक्य स्मृति महानगरव्यापी अन्तर वडा चेस प्रारम्भ


काठमाडौँ, चैत २२ । कठमाडौं महानगरपालिका वडा नं. २२ को आयोजनामा भएको दोस्रो शहीद सुरज शाक्य स्मृति महानगरव्यापी अन्तर वडा चेस प्रतियोगिता तीन चरणका खेल सम्पन्न भएका छन् । संकटा मन्दिरको प्राङ्गणमा भएको प्रतियोगितामा दुई खुल्ला तथा अनिवार्य एक महिला र एक युवा १६ वर्षका खेलाडीको टिम सहित हरेक वडाले प्रतिस्पर्धा गरिरहेका छन् ।
पहिलो दिन आयोजक वडा नं २२ को टिम ए र वडा नं ११ सर्वाधिक ६–६ अंक बनाएर संयुक्त अग्रस्थानमा रहन सफल बने ।
वडा नं २२ टिम ए बाट पहिलो बोर्डमा नवीन तण्डुकार, दोस्रो बोर्डमा प्रकाशचन्द्र नेपाल, तेस्रो बोर्डमा युवा १६ वर्षका हार्दिक पन्त र चौथो बोर्डमा महिला खेलाडी पुजा भण्डारीले प्रतिस्पर्धा गरेका छन् । आयोजक २२ नं. वडा टिमले शीर्ष स्थान कब्जा जमाउन वडा ९, वडा २७ र वडा २३ लाई हराएको थियो ।
सैगरी वडा ११ ले पहिलो चरणमा क्रमशः वडा १०, दोस्रो चरणमा वडा ३ र तेस्रो चरणमा वडा २८ लाई पराजित गर्न सफल भएका छन् । संयुक्त शीर्ष टिममा क्षितिज भण्डारी, विजेश राजकर्णिकार, प्रवीर केसी (यु–१६) र राधिका पौडेल (महिला)ले प्रतिस्पर्धा गरेका हुन् ।
प्रतिस्पर्धामा गत संस्करणका विजेता वडा नं. ७ र वडा १९ संयुक्तरुपमा दोस्रो स्थानमा रहेका छन् । यी दुवै वडाले समान ५ अंक हासिल गरे । काठमाडौंका वडा १२, वडा २७, वडा ३२, वडा २३, वडा २८, वडा २५ र वडा नं ३ संयुक्त तेस्रो स्थानमा छन् ।
खेलअघि काठमाडौं महानगरपालिका वडा नं. २२ का अध्यक्ष चिनिकाजी महर्जन, वडा नं. २१ का अध्यक्ष उदयचुडामणि वज्राचार्य, वडा नं. २२ का सदस्य अनिल हाडा, चन्द्रमान तुलाधर, ललिता खड्गी र नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले संयुक्तरुपमा चेसको गोटी चालेर प्रतियोगिताको उदघाटन सम्पन्न गरेका थिए । प्रतियोगिताका प्रमुख निर्णायक एफए सोराज ताम्राकारका अनुसार महासंघको प्राविधिक सहयोग रहेको खेलमा स्विस लिग प्रणाली अन्तर्गत २८ टिमको सहभागता रहेको छ ।
दोश्रो संस्करण विजेता टिमलाई ६० हजार, उपविजेतालाई ४० हजार र तेस्रो स्थान हासिल गर्ने टिमले ३० हजार नगद पुरस्कार सहित आकर्षक ट्रफि, शिल्ड र पदक प्रदान गरिने वडा अध्यक्ष चिनिकाजी महर्जनले जानाए। महर्जनले सान्त्वना स्वरुप चौथो टोलीलाई २० हजार नगद पुरस्कार तथा प्रत्येक बोर्डमा उत्कृष्ट हुने पाँच खेलाडीलाई जनही १० हजार रुपियाँले पुरस्कृत गरिने बताए ।






















