बिश्व

कङ्गोले अमेरिकाबाट तेस्रो देशका डिपोर्टीहरू स्वीकार गर्ने

एजेन्सी
२०८२ चैत्र २२ | मध्यान्ह ०६:१२ बजे

वासिङ्टन डिसी । कङ्गोले अमेरिकाबाट तेस्रो देशका नागरिकहरू (डिपोर्टीहरू)लाई स्वीकार गर्ने नयाँ सम्झौता गरेको घोषणा गरेको छ । कङ्गो सरकारले आइतबार जारी गरेको वक्तव्यअनुसार, अप्रिल महिनादेखि डिपोर्टीहरूलाई कङ्गोमा ल्याइनेछ । यद्यपि कति सङ्ख्यामा स्वीकार गर्ने सहमति भएको हो भन्ने स्पष्ट गरिएको छैन । 

यस व्यवस्थाको सम्पूर्ण खर्च अमेरिकाले व्यहोर्ने र कङ्गो सरकारलाई कुनै आर्थिक भार नपर्ने बताइएको छ । डिपोर्टीहरूलाई राख्न राजधानी किन्शासानजिकै आवश्यक संरचनाहरू पनि तयार पारिएको बताइएको छ । यसअघि पनि अमेरिकाले घाना, क्यामरुन, गिनीलगायत अफ्रिकी देशहरूमा तेस्रो देशका डिपोर्टीहरू पठाउँदै आएको छ, जसप्रति कानुनी विशेषज्ञ तथा मानवअधिकार समूहहरूले आलोचना गर्दै आएका छन् । 

यो सम्झौता डोनाल्ड ट्रम्पको प्रशासनले कङ्गो र रुवान्डाबिच शान्ति सम्झौता अघि बढाउने प्रयास तथा कङ्गोका महत्त्वपूर्ण खनिज स्रोतहरूमा अमेरिकी पहुँच सुनिश्चित गर्ने पहलसँग पनि सम्बन्धित मानिएको छ ।

कमेन्टहरु