रामग्राम नगरपालिकामा हाकीमको छुट्टै गाडी मोह


नवलपरासी, चैत २२ । देशका अधिकांश सरकारी निकायले खर्च कटौती र मितव्ययिताको नीति अवलम्बन गरिरहेका बेला पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सवारी साधन विलासिताका कारण पुनः विवादमा तानिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयका लागि छुट्टै स्कार्पियो गाडी भाडामा लिएर प्रयोग गरिएपछि स्थानीय स्तरमा यसको चर्को आलोचना भएको छ ।
नगरपालिकासँग आफ्नै स्वामित्वमा दुईवटा सवारी साधन छन्। एउटा स्कार्पियो गाडी नगर प्रमुखले प्रयोग गर्दै आउनुभएको छ भने अर्को अलि पुरानो ” गाडी छ। तर, मौज्दात रहेको सरकारी गाडी प्रयोग गर्नुको साटो नगरपालिकाले मासिक लाखौँ रुपैयाँ सरकारी ढुकुटीबाट खर्च हुने गरी थप स्कार्पियो गाडी भाडामा सञ्चालन गरिरहेको छ ।
नगरपालिकाका अनुसार प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले चढ्ने स्कार्पियो गाडीका लागि मात्रै नगरपालिकाले मासिक १ लाख ९ हजार रुपैयाँ भाडा बुझाउँदै आएको छ । यो त केवल गाडीको भाडा मात्र हो; यसमा लाग्ने इन्धन र मर्मत सम्भारको खर्च समेत नगरपालिकाले नै बेहोर्ने गर्दछ। सबै खर्च जोड्दा एउटै कर्मचारीका लागि मासिक डेढ लाखभन्दा बढी रकम खर्च भइरहेको देखिन्छ ।
नागरिक समाजका पूर्व अध्यक्ष राधेश्याम सिंह सैथवारले नगरबासीको पसिनाबाट संकलित करको यसरी दुरुपयोग हुनु दुःखद भएको बताउनुभएको छ। “अत्यावश्यक सेवाबाहेक यसरी विलासिताका लागि गाडी भाडामा लिनु ठिक होइन, यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ,” सैथवारले भन्नुभयो।
नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतका लागि विलासी गाडी भाडामा लिएर प्रयोग गरेपछि यो विषय अहिले चौतर्फी विवाद र आलोचनाको घेरामा परेको छ । भाडामा एउटा स्कार्पियो गाडी प्रमुख प्रशासकीय अधिकृत पाण्डेयका लागि व्यवस्था गरिएको छ ।
यता नगरपालिका प्रशासनले भने प्रमुख प्रशासकीय अधिकृतले विभिन्न योजनाहरूको अनुगमन गर्नुपर्ने भएकाले कार्यसम्पादनमा सहजताका लागि गाडी भाडामा लिइएको दाबी गरेको छ । तर, अनुगमनका लागि कार्यालयकै बोलेरो गाडी छ , रामग्राम नगरपालिकाका १८ वटै वडाहरू भौगोलिक रूपमा सुगम मानिन्छन् अन्य सवारी साधन मोटरसाइकल प्रयोग गरी पनी सहजै अनुगमनमा जान सकीन्छ । भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ भने नगरपालिकासँग छैन।
जेन्जी आन्दोलन र पछिल्लो राजनीतिक परिवर्तनपछि जनताले सरकारी सेवामा पारदर्शीता र खर्च कटौतीको माग गरिरहेका बेला रामग्रामको यो कदमले स्थानीयमा आक्रोश बढाएको छ । रामग्राम नगरपालिकाका १८ वटै वडाहरू भौगोलिक रूपमा सुगम मानिन्छन् । यस्तो सुगम क्षेत्रमा रहेर पनि पुरानो सरकारी गाडी चढ्नु वा मोटरसाइकल प्रयोगको साटो विलासी गाडी रोज्नुले सुशासनमाथि प्रश्न उठाएको छ ।






















