उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा


काठमाडौँ, चैत २२। धादिङको ज्वालामुखी गाउँपालिकामा २०३१ साल भदौ ६ गते जन्मनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याल प्रतिनिधिसभाको दसौँ सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
व्यवसाय र राजनीतिलाई सँगसँगै अघि बढाउनुभएका अर्यालले २०७९ सालमा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक उपाध्यक्ष हुनुहुन्छ ।
संसद्को अघिल्लो कार्यकालमा श्रममन्त्रीको जिम्मेवारीमा रहँदा उहाँले श्रमिकका अधिकार रक्षा, वैदेशिक रोजगार प्रणालीमा पक्रियागत सुधार र सामाजिक सुरक्षाका खातिर उल्लेखनीय योगदान गर्नुभएको थियो ।
प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याललाई सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो । नवनिर्वाचित सभामुख अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको सपथ लिने कार्यक्रम छ ।
प्रतिनिधिसभाको सभामुख पदमा अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि अर्याल निर्विरोध निर्वाचित हुनुभएको हो । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ सांसद हुनुहुन्छ । संसद्का प्रमुख अर्याललाई कानुन निर्माण, सरकारका गतिविधिको निगरानीका साथै राजनीतिक ध्रुवीकरण र दलहरूको मतभेद अन्त्य गर्न सन्तुलित ढङ्गले संसद् सञ्चालन गर्नु चुनौतीपूर्ण छ ।
विधेयक र प्रस्तावहरूको समयमै व्यवस्थापन, सांसदहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नु र नियमावलीको पालना गराउनु पनि चुनौतीपूर्ण छ । सभामुखले दलीय दबाब र व्यक्तिगत राजनीतिक हितभन्दा पर रही निष्पक्ष निर्णय लिनुपर्ने अवस्था छ भने जनताबाट उच्च अपेक्षा र उहाँको दायित्व बनेको छ ।






















