वीरगन्ज नाकाबाट सात महिनामा चार सय ९७ विद्युतीय गाडी भित्रियो


वीरगन्ज (पर्सा),चैत २२। वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु एक अर्ब ४८ करोड ६४ लाख मूल्य पर्ने चार सय ९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको छ । ती विद्युतीय सवारीसाधनको आयातबाट कार्यालयले रु ९६ करोड ३६ लाख राजस्व सङ्कलन गरेको छ ।जबकि गत आवको सोही अवधिमा भने रु ४३ करोड एक लाख मूल्य पर्ने एक सय ६५ वटा विद्युतीय, जिप, कार र भ्यान आयात भएको छ । ती सवारीसाधनको आयातबाट कार्यालयले रु ३५ करोड ५० लाख राजस्व सङ्कलन गरेको थियो ।
चालु आवको सात महिनामा रु एक अर्ब १६ करोड १३ लाखका छ सय नौ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको छ । ती सवारीसाधनको आयातबाट कार्यालयले रु दुई अर्ब ८६ करोड राजस्व सङ्कलन गरेको छ । जबकि गत आवको सात महिनामा भने रु एक अर्ब ५० करोड मूल्यका सात सय ४८ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको थियो । सो आवमा इन्धनबाट चल्ने सवारीसाधन आयातबाट रु तीन अर्ब ७३ करोड राजस्व सङ्कलन भएको थियो ।
कार्यालयले चालु आवको सात महिनामा रु २३ अर्ब ५७ करोड मूल्यका सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका छन् । जबकि गत आवको सात महिनामा रु १७ अर्ब १५ करोड मूल्यका सवारीसाधन र पार्टपुर्जा आयात हुँदा रु १३ अर्ब २६ करोड राजस्व सङ्कलन भएको थियो ।






















