बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान


काठमाडौं, चैत २२ । चिन चेस फेडेरेशन र काजाकिस्तान चेस फेडेरेशनको फरक फरक राष्ट्रको निमन्त्रणामा नेपाली बुद्धिचाल खेलाडीहरु आइतबार सांघाई तथा अल्माटीतर्फ प्रस्थान गरेका छन्। नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्षको नेतृत्वमा रापिडतर्फ उच्च वरियताका खेलाडी एवं नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैशवाल र दोलखाका आशिष फूँयाल तथा महिलातर्फ पहिलो वरियताका कृतिसारा अधिकारीले चिनमा सहभागी जनाउने छन्।
नेपाली चेस टोलीले यहि अप्रिल ७ देखि १२ तारिखसम्म हुने आठौं सांघाइ कोअपरेशन अर्गनाइजेसन इन्टरनेसनल टिम चेस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरि दोस्रो राष्ट्रिय विद्यालय प्रतियोगिताको बिजेता मार्भलस उच्च माविका छात्र छात्राहरु अप्रिल ६ देखि ११ तारिखसम्म काजाकिस्तानको अल्माटीमा हुने एसियाली कन्टिनेन्टल स्टेज अफ द फिडे आईएससीएफ वर्ल्ड स्कुल टिम प्रतियोगितामा सहभागी जनाउन त्यस तर्फ प्रस्थान गरेका छन्।
उक्त अन्तर्राष्ट्रिय जुनियर स्पर्धामा जम्मा ५ खेलाडीहरुको सहभागीता रहने छन् । नेपालका विद्यालय च्याम्पियन खेलाडीमा निहाना श्रेष्ठ, सुहानी सिंह, कृष्टि रिजाल, वृजनन्ददास टमटा र आकर्षण कुँवर रहेका छन् । कन्टिनेन्टल चेसका लागि व्यवस्थापकमा नेपाल बुद्धिचाल महासंघका रेटिङ अफिसर आईए निराजन प्रजापति र प्रशिक्षकमा रिजेन्द्र राजभण्डारी छन् ।
दुवै टोलीलाई आइतबार नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र प्रवक्ता राजु ताम्राकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा विदाइ गर्दै खेलाडीहरुलाई सफलताको शुभकामना व्यक्त गरेका थिए।






















