दुबई यूएई, प्रबास, बिश्व, मुख्य समाचार
अबु धाबीमा ड्रोन अवशेष खस्दा घाइते ६ नेपाली घर फर्किए, एकको अवस्था सुधारोन्मुख


प्रवास यूएई | अप्रिल ३ मा संयुक्त अरब इमिरेट्सको अबु धाबीस्थित Ajban क्षेत्रमा आकाशमै निष्क्रिय बनाइएका ड्रोन तथा मिसाइलका अवशेष खस्दा ७ जना घाइते भएका नेपालीमध्ये ६ जना उपचारपछि घर फर्किएका छन् भने एक जनाको अवस्था क्रमशः सुधार हुँदै गएको छ।
Embassy of Nepal, Abu Dhabi र स्थानीय स्रोतका अनुसार उक्त घटनामा कुल १२ जना घाइते भएका थिए। घाइतेहरूमध्ये नेपाली र भारतीय नागरिकसमेत रहेका छन्। घटनापछि सुरक्षाकर्मी तथा आपतकालीन सेवाले तत्काल उद्धार गरी सबै घाइतेलाई नजिकैका अस्पतालहरूमा भर्ना गरेका थिए। उपचारपछि अधिकांश घाइतेहरूलाई डिस्चार्ज गरिएको हो।

अस्पताल स्रोतका अनुसार उपचाररत एक नेपाली नागरिकको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ र उनी खतरामुक्त अवस्थामा रहेका छन्।प्रारम्भिक जानकारीअनुसार यूएईको हवाई प्रतिरक्षा प्रणालीले आक्रमणलाई बीचमै निष्क्रिय पार्दा त्यसका टुक्रा जमिनमा खसेर उक्त घटना भएको हो।
राजदूतावासले घाइते नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही आवश्यक सहयोग र समन्वय गरिरहेको जनाएको छ। साथै, यूएईमा रहेका नेपाली नागरिकलाई आधिकारिक सुरक्षा निर्देशनहरूको पालना गर्न र अनावश्यक हल्लामा नपर्न आग्रह गरिएको छ।

हाल मध्यपूर्व क्षेत्रमा विकसित परिस्थितिका कारण सुरक्षा सतर्कता बढाइएको छ।






















