समाचार

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

नवलपुर टुडे
२०८२ चैत्र २० | मध्यान्ह ०५:१२ बजे

मलंगवा, चैत २०। माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भइरहेका बेला परीक्षा हलमै मोबाइल प्रयोग गरी चिट चोर्दै गरेका तीन जना परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्लाको गोडैता नगरपालिका – ५ रामवनस्थित श्री जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट आज (शुक्रबार) बिहान करिब ८ः४० बजेतिर परीक्षा हलमै मोबाइल प्रयोग गरी चिट चोर्दै गरेका तीन जना परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बलरा नगरपालिका – ८ गडहिया डुमरियास्थित श्री नमुना माध्यमिक विद्यालयका पृतम यादव र आलोक यादव तथा गोडैता – ५ रामवनस्थित श्री नारायण हरि माध्यमिक विद्यालयका सुमित यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

परीक्षा चलिरहेकै समयमा केही परीक्षार्थीले मोबाइलमार्फत प्रश्नपत्र बाहिर पठाउने तथा उत्तर प्राप्त गर्ने प्रयास गरेको देखिएपछि केन्द्राध्यक्षले उनीहरूलाई नियन्त्रणमा लिएर त्यहाँ खटिएको प्रहरी टोलीलाई जिम्मा लगाएका थिए ।

त्यसपछि उनीहरुले वाटसपमा ग्रुप बनाएर चिट चोर्ने गरेको पाईएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बरहथवामा राखिएको सर्लाही प्रहरीका निमित्त प्रहरी प्रवक्ता बिन्देश्वर यादवले जानकारी दिए । परीक्षाको मर्यादाविपरीत कार्यमा संलग्न तीनै जना परीक्षार्थीको शुक्रबार दोस्रो दिन भएको अनिवार्य नेपाली विषयको परीक्षा रद्द गरिएको छ । यस्तै, परीक्षाको पहिलो दिन हिँजो जिल्लाको कविलासी नगरपालिका– २, पिपरियास्थित श्री बाल गोबिन्द जनता माध्यमिक बिद्यालय परिक्षा केन्द्र बाहिरबाट प्रश्नपत्र आउट गर्ने एक जनालाई पक्राउ गरिएको थियो । न्यूज बैंक

कमेन्टहरु