डिभिजन वन कार्यालय चितवनद्धारा देववृक्ष उत्पादन सुरु


चितवन, चैत २०। यहाँ डिभिजन वन कार्यालयले देववृक्ष उत्पादन सुरु गरेको छ । कार्यालयले देव वृक्ष अर्थात् वर, पिपल, स्वामी, खयर, आँप, अम्बा, बेल, अमला, पलाँस, काभ्रोलगायत बिरुवा उत्पादन सुरु गरेको हो ।
कार्यालय प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार देववृक्षसँगै ग्रह, नक्षेत्र र रासि बाटीकाअनुसारका वृक्ष उत्पादन सुरु गरिएको छ । यस क्रममा पहिलो वर्ष १० हजार बिरुवा उत्पादन गरेर वितरण गर्ने तयारी गरिएको छ । उहाँले भन्नुभयो, “ग्रह बाटीकाका लागि नौ प्रजाति, रासि बाटीकाका लागि १२ प्रजाति र नक्षेत्र बाटीकाका लागि २७ प्रजातिका बिरुवा उत्पादन सुरु गरेका छौँ । सुरुआतको वर्ष भएकाले यस्ता बिरुवा कम उत्पादन गर्न थालिएको हो ।”
कार्यालयले यसवर्ष एक लाख २० हजारभन्दा बढी बिरुवा उत्पादन गरेर वितरण गर्ने तयारी रहेको जनाएको छ । कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलले यीबाहेक गतवर्ष उत्पादन भएर वितरण गर्न बाँकी रहेका १० हजार बिरुवाका साथै अन्य २५ हजार बहुवर्षीय बिरुवा वितरण गर्ने योजना रहेको बताउनुभयो ।
उहाँका अनुसार गत आर्थिक वर्षमा एक लाख ५० हजार बिरुवा वितरण गरिएको थियो । हरेक वर्ष असार १५ गतेदेखि बिरुवा वितरण गरिँदै आएको छ ।






















