सुडानको अस्पतालमा ड्रोन आक्रमण, १० जनाको मृत्यु


सुडान । मध्य सुडानको ह्वाइट नाइल राज्यको अल–जबालाइन अस्पताललाई लक्षित गरी भएको आक्रमणमा चिकित्सा तथा प्रशासनिक कर्मचारी गरी १० जनाको मृत्यु हुनुका साथै २२ जना सर्वसाधारण घाइते भएको सुडानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।कर्मचारीहरुले आफ्नो कर्तव्य पालना गरिरहेको अवस्थामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले अल–जबालैन अस्पतालमा आक्रमण गरी उनीहरुको ज्यान लिएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।
मृतकहरुमध्ये अस्पतालको महानिर्देशक डाक्टर हमिद सुलेमान पनि रहेको जनाइएको छ भने उनको उपचारको क्रममा मृत्यु भएको थियो । मन्त्रालयले अन्तर्राष्ट्रिय मापदण्ड र कानुनको उल्लङ्घन गरी आक्रमण गरेको बताउदै नागरिक र स्वास्थ्य सुविधालाई निरन्तर लक्षित गरी आक्रमण गरिएको भन्दै निन्दा गरेको छ ।
सन् २०२३ अप्रिलको मध्यमा सुरु भएको सुडानी सशस्त्र बल र आरएस एफ बिचको द्वन्द्वमा दशौं हजारको मृत्यु हुनुका साथै लाखौं विस्थापित भएको जनाइएको छ । विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ले लगभग तीन वर्ष लामो द्वन्द्वमा २१३ वटा स्वास्थ्य सुविधाहरूमा आक्रमण गर्दा दुई हजार भन्दा बढीको मृत्यु भएको पुष्टि गरेको छ ।






















