कञ्चनपुर–कमला सडक विस्तारमा ढिलासुस्ती


सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तारमा भएको ढिलासुस्ती र त्यसबाट उत्पन्न धुवाँधुलोका कारण आजित भएका स्थानीय बासिन्दाले शुक्रबार सडक अवरुद्ध पारेका छन् । निर्माण कार्य सुरु भएको पाँच वर्ष बितिसक्दा पनि आयोजना सम्पन्न नहुँदा स्वास्थ्य समस्या र दुर्घटनाको जोखिम बढेको भन्दै लहानका बासिन्दाले यातायात सेवा ठप्प पारेका हुन्।
पहिलोपटक १४ महिना, दोस्रोपटक १२ महिना र हालै तेस्रो पटक ६ महिना थपेर निर्माण अवधि आगामी सन् २०२६ जुनसम्म पुर्याइएको छ । आयोजनाको कूल लागत भेरिएसनसहित करिब रु १६ अर्ब आठ करोड ५० लाख अनुमान गरिएको छ, जसमा एसियाली विकास बैंकको ७१ दशमलव २२ प्रतिशत ऋण र नेपाल सरकारको २८ दशमलव ७८ प्रतिशत लगानी रहेको छ ।
पाँच वर्ष बितिसक्दा पनि आयोजनाको समग्र भौतिक प्रगति जम्मा ६९ प्रतिशत मात्र पुगेको छ । आयोजनाको पूर्वी खण्ड (३९.४२ किमि) मा करिब ६७ प्रतिशत र पश्चिम खण्ड (४७.४ किमि) मा ५५ देखि ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ । कोभिड–१९ महामारी, रुख कटान र विद्युत्का पोल सार्ने जस्ता काममा ढिलाइ, निर्माण सामग्रीको अभाव र स्थानीयको अवरोधका कारण कामले गति लिन नसकेको योजना प्रमुख श्रेष्ठको भनाइ छ ।
सडक विस्तारको सुस्त गतिले लहान र मिर्चैया जस्ता बजार क्षेत्र धुलाम्य बनेका छन् । स्थानीयवासीमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिनुका साथै अधुरा पुल र साँघुरा डाइभर्सनका कारण दुर्घटनाको जोखिम बढेको छ । ठेकेदार र कन्सल्ट्यान्टलाई निरन्तर ताकेता गरिरहेकाे योजना प्रमुख श्रेष्ठले बताए ।






















