प्रबास

ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाए

एजेन्सी
२०८२ चैत्र २० | मध्यान्ह ०१:१२ बजे

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन् । उनी ट्रम्प प्रशासनकी नजिककी सहयोगी र प्रखर समर्थकका रूपमा चिनिन्थिन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘टु«थ सोसल’ मा पोस्ट गर्दै बोन्डीको प्रशंसा गरेका छन् र उनी अब निजी क्षेत्रतर्फ ‘ट्रान्जिसन’ हुने बताएका छन् । यद्यपि उनको नयाँ भूमिका के हुनेछ भन्नेबारे अहिलेसम्म खुलाइएको छैन ।

न्याय मन्त्रालयको नेतृत्व सम्हाल्ने क्रममा बोन्डीको कार्यकाल धेरैजसो जेफ्री एपस्टिनसँग सम्बन्धित फाइल सार्वजनिक गर्ने विषय र सोसँग जोडिएको अनुसन्धानले छायामा परेको थियो । एपस्टिन एक दोषी ठहर भएका यौन अपराधी थिए, जसको प्रकरणले अमेरिकी राजनीतिमा व्यापक चर्चा पाएको थियो ।

हालैका हप्ताहरूमा ट्रम्प प्रशासनबाट हटाइने उनी दोस्रो उच्च अधिकारी हुन् । यसअघि मार्च महिनामा क्रिस्टी नोएमलाई गृह सुरक्षा प्रमुख पदबाट हटाइएको थियो । बोन्डीको स्थानमा उनका पूर्वअधिकारी टोड ब्लान्चलाई नियुक्त गरिने बताइएको छ ।

आफ्नो जिम्मेवारी ब्लान्चलाई हस्तान्तरण गर्न अथक प्रयास गर्ने बताउँदै बोन्डीले यो पद आफ्नो जीवनको ठुलो सम्मान भएको उल्लेख गरेकी छिन् । निजी क्षेत्रमा गएपछि पनि आफूले ट्रम्प र उनको प्रशासनका लागि काम जारी राख्ने बताएकी छिन् ।

कंग्रेसमा भएको एक तनावपूर्ण सुनुवाइमा बोन्डीले सांसदहरूको कडा प्रश्नहरूको सामना गर्नुपरेको २ महिनापछि यो घोषणा आएको हो । सो सुनुवाइको क्रममा विवादास्पद बहससमेत भएको थियो ।रोचक कुरा के छ भने बिहीबार बिहान मात्रै ट्रम्पले बोन्डीको प्रशंसा गर्दै ‘उनले राम्रो काम गरिरहेकी छिन्’ भनेका थिए । तर केही घण्टापछि नै उनले बोन्डीलाई पदबाट निकालिएको घोषणा गरेका छन् ।

कमेन्टहरु