ओलीले बालुवाटार बोलाउँदा प्रचण्डले भने– म आउँदिनँ


काठमाडौं । प्रदेश सरकारका देखिएको विवाद समाधानका लागि कर्णालीका नेकपा नेताहरु तीन दिनदेखि काठमाडौंमा छन् । विहीबार र शुक्रबार दुईदिन कार्यकारी अध्यक्ष प्रचण्ड र माधव नेपाल लगायतका नेताहरुसँग बेग्लाबेग्लै छलफल गरेका उनीहरु शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
कर्णालीका पदाधिकारीसँगको छलफलमा सहभागी हुन प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई पनि शनिबार बालुवाटार बोलाएका थिए । तर, प्रचण्डले प्रधानमन्त्रीलाई ‘तपाई आफैं छलफल गर्नोस्’ भने ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएपछि चर्किएको विवाद समाधान गर्न कर्णालीका नेकपा पदाधिकारीहरुलाई अध्यक्षद्वयले काठमाडौं बोलाएका हुन् ।
प्रदेश कमिटीका पदाधिकारीहरु तीन दिन पहिले नै काठमाडौं आइपुगे पनि प्रधानमन्त्री ओलीले भेट्ने समय नदिएका कारण विहीबार र शुक्रबार प्रचण्डले एक्लै छलफल गरेका थिए ।
अर्का बरिष्ठ नेता माधव कुमार नेपालले पनि प्रदेश कमिटीका पदाधिकारीहरुसँग छलफल गरिसकेका छन् ।
प्रधानमन्त्री ओलीले चाहिँ तीन दिनपछि बल्ल शनिबार बिहान मात्रै उनीहरुलाई सामुहिकरुपमा भेट्ने समय दिएका हुन् ।
कर्णालीका पदाधिकारीसँग दुबै अध्यक्षले बसेर छलफल गरौं भन्दै प्रधानमन्त्री ओलीले शनिबार बहिान प्रचण्डलाई बालुवाटार बोलाएका थिए । तर, प्रचण्डले प्रधानमन्त्रीको निम्तो अस्वीकार गरे ।
केपी ओली पक्षका नेता यामलाल कँडेलको अगुवाइमा कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध १६ जना सत्तारुढ सांसदले संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेपछि कर्णाली सरकार विवादमा फसेको हो ।
यसवीचमा हस्ताक्षरकर्ता माओवादी र माधव नेपाल पक्षका नेताहरु ब्याक हटेर केही सांसदहरु मन्त्री समेत बनिसकेका छन् भने ओली पक्षले अविश्वासको प्रस्ताव अझै कायमै रहेको तर्क गर्दै आइरहेको छ ।























