यातायात व्यवसायीको चेतावनीः ५ दिनभित्र भाडा समायोजन नभए कडा कदम चाल्छौँ: स्वाँर


काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्ने बताएका छन्। बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष स्वाँरले व्यवसायीहरूलाई मात्रै दोषारोपण गरेर समस्याको समाधान नहुने उल्लेख गर्दै सरकारले आफ्नो काम नगरेका कारण विकृति बढेको आरोप लगाएका हुन्।
अध्यक्ष स्वाँरले अरूलाई औँला तेर्स्याउँदा बाँकी चारवटा औँला आफैँतिर तेर्सिने यथार्थ बिर्सन नहुने बताए। यातायात क्षेत्रलाई व्यवस्थित बनाउन चालक र परिचालकको भूमिका महत्वपूर्ण हुने भए पनि सरकारले उनीहरूको शिक्षा र प्रशिक्षणका लागि बजेट नछुट्याएकोमा स्वाँरले आपत्ति जनाए। उनले लाइसेन्स छान्ने जिम्मा निजी क्षेत्रलाई दिए अझ दक्ष चालकहरू छान्न सकिने दाबीसमेत गरे। व्यवसायीहरू जिम्मेवारीबाट पन्छिन खोजेको भन्ने आरोपको खण्डन गर्दै उनले यातायात क्षेत्रमा व्यवसायीको घरखेत र सन्तानको भविष्य जोडिएको बताए।
अध्यक्ष स्वाँरले प्रहरी र व्यवसायी दुवै सडकमा हुने भएकाले सहकार्य अनिवार्य रहेको बताए। इन्धनको मूल्य वृद्धिसँगै भाडा समायोजन र अन्य प्राविधिक विषयमा सरकार गम्भीर नभए महासंघ आन्दोलनमा उत्रिने चेतावनीसमेत उनले दिए। सरकारले चाँडोभन्दा चाँडो व्यवसायीका माग सम्बोधन नगरे ५ दिनभित्र कडा कदम चाल्ने उनको भनाइ छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले मुलुकको यातायात क्षेत्रमा रहेको १३–१४ खर्बको लगानी र लाखौँको रोजगारीलाई सुरक्षित गर्न व्यवसायीहरूले आफैँबाट सुधारको सुरुवात गर्नुपर्नेमा जोड दिए। हालै प्रधानमन्त्री कार्यालयका पदाधिकारीहरूसँग भएको छलफलका विषयमा जानकारी दिँदै सिटौलाले सरकारले यातायात क्षेत्रका समस्या समाधानमा तदारुकता देखाएको र व्यवसायीहरूले पनि आफ्नो व्यवहार र सेवामा परिवर्तन ल्याउनुपर्ने बताए।
उनले सार्वजनिक सवारी साधनको सेवाप्रति उठिरहेका गुनासाहरूलाई सम्बोधन गर्न चालक र सहचालकहरूलाई विशेष आग्रह गरे। उनले सवारीसाधनभित्र फोहोर नगर्न, डस्टबिनको व्यवस्था गर्न र गाडीलाई सधैँ सफा राख्न निर्देशन दिए। सिटौलाले हवाई भाडा र सडक यातायातको भाडा समायोजनमा राज्यले विभेद गरेको आरोप लगाए।
यातायात क्षेत्रलाई प्रविधिमैत्री र क्यासलेस (नगदरहित) बनाउन व्यवसायी तयार रहेको बताउँदै उनले त्यसका लागि आवश्यक वातावरण बनाउन सरकारसँग माग गरे। साथै, विदेशमा जस्तै सार्वजनिक सवारीका लागि छुट्टै ‘लेन’ को व्यवस्था गर्नुपर्ने, ठूला सडकमा ठूला बस सञ्चालन गर्नुपर्ने र राजमार्गका होटलहरूको उचित अनुगमन हुनुपर्ने उनको भनाइ छ।






















