नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि


काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ८२ अङ्कले बढेर दुई हजार ७८२ दशमलव १८ को बिन्दुमा कायम भएको हो ।
विकास बैंक शून्य दशमलव ४८, होटल तथा पर्यटन शून्य दशमलव ३९, जलविद्युत् शून्य दशमलव शून्य पाँच, लगानी शून्य दशमलव १५, उत्पादन तथा प्रशोधन एक दशमलव ७६, म्युचुअल फण्ड शून्य दशमलव १२ र व्यापार समूह दुई दशमलव ५३ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, रिजलाइन इनर्जी लिमिटेड र सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य तीन दशमलव शून्य छ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एसवाई प्यानल नेपाल लिमिटेडको रु ३५ करोड ७० लाख १२ हजार ५८९ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको १० लाख ७९ हजार ९२१ कित्ता शेयर किनबेच भएको छ ।






















