प्रबास

अमेरिकालाई स्ट्रेट अफ हर्मुज चाहिएको छैनः ट्रम्प

एजेन्सी
२०८२ चैत्र १९ | बिहान ११:१२ बजे

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई स्ट्रेट अफ हर्मुज नचाहिएको बताएका छन् । ट्रम्पले बुधबार सो स्ट्रेटमाथि अमेरिकाको निर्भरता कम भएको दाबी गरेका छन् । 

स्ट्रेट अफ हर्मुज भएर विश्व बजारमा झन्डै २० प्रतिशत तेल जाने भएकोले यो मार्ग निकै महत्त्वपूर्ण छ । बुधबारको सम्बोधनमा ट्रम्पले अमेरिकाले अब उक्त मार्गबाट तेल आयात नगर्ने र भविष्यमा पनि यसको आवश्यकता नपर्ने दाबी गरेका छन् । अन्तर्राष्ट्रिय ऊर्जा निकायका अनुसार यस बाटो भएर जाने अधिकांश तेल एसियाली देशमा जान्छन् ।

उनका अनुसार अमेरिका अहिले विश्वकै अग्रणी तेल तथा ग्यास उत्पादक राष्ट्र भएकाले अन्तर्राष्ट्रिय स्तरमा आपूर्तिमा देखिएको अवरोधबाट यो देश सुरक्षित छ । तर, यथार्थमा अमेरिकी उपभोक्ताले पेट्रोल मूल्य बढेको प्रभाव महसुस गरिरहेका छन् । इरान युद्धको प्रभावले विश्वमा इन्धनको आपूर्ति सीमित भएपछि अमेरिकामा ग्यासको मूल्य बढेर प्रति ग्यालन ४ डलरभन्दा माथि पुगेको छ । यो सन् २०२२ यताकै उच्च हो ।

स्ट्रेट अफ हर्मुज भएर तेल आयात गर्ने देशहरूले सो मार्गको सुरक्षा आफैँले सुनिश्चित गर्नुपर्ने ट्रम्पले बताएका छन् । अमेरिका सहयोग गर्न तयार भए पनि नेतृत्व अरू देशहरूले लिनुपर्ने धारणा उनले राखेका छन् । साथै, तेल अभाव भोगिरहेका देशहरूले अमेरिकाबाट तेल खरिद गर्न सक्ने सुझाव पनि उनले दिएका छन् ।

तर, विश्लेषकहरूले ट्रम्पको दाबीप्रति शंका व्यक्त गरेका छन् । उनीहरूका अनुसार युद्धका कारण पश्चिम एसियाको ऊर्जा पूर्वाधारमा क्षति पुगेको छ र आपूर्ति प्रणालीमा दीर्घकालीन अवरोध देखिएको छ । यस्तो अवस्थामा युद्ध अन्त्य भए पनि तेलको मूल्य तत्काल घट्ने सम्भावना कम रहेको उनीहरूको भनाइ छ । 

कमेन्टहरु