बिश्व

इरान युद्धमा मृत्यु हुनेको संख्या ५ हजार नाघ्यो

एजेन्सी
२०८२ चैत्र १९ | बिहान ०८:१२ बजे

रान । अमेरिका र इजरायलको इरानसँग जारी युद्धमा ज्यान गुमाउनेहरूको संख्या ५ हजार नाघेको छ। विभिन्न एजेन्सीहरूले संकलन गरेको तथ्याङ्क अनुसार रोयटर्सले सार्वजनिक गरेको यो विवरणले पश्चिम एसियामा मानवीय क्षति भयावह बन्दै गएको देखाउँछ।

सबैभन्दा धेरै क्षति इरानमा भएको छ, जहाँ हालसम्म ३ हजार ५ सय १९ जनाको मृत्यु भइसकेको छ। मानव अधिकारवादी संस्था हरानाका अनुसार इरानमा ज्यान गुमाउनेमध्ये १ हजार ५ सय ९८ जना सर्वसाधारण हुन्, जसमा २४४ बालबालिका समेत परेका छन्। रेडक्रस र रेड क्रिसेन्टले समेत इरानमा करिब १९ हजार मानिस घाइते भएको बताएको छ।

युद्धको राप इरानमा मात्र सीमित नभई लेबनान, इराक र अन्य छिमेकी देशहरूमा पनि उत्तिकै फैलिएको छ। लेबनानमा इजरायली आक्रमणबाट हालसम्म १ हजार ३ सय १८ जनाले ज्यान गुमाएका छन्, जसमा १२४ बालबालिका रहेका छन्। त्यहाँ हिजबुल्लाहका ४ सयभन्दा बढी लडाकु मारिएका छन् भने ड्युटीमा रहेका ९ लेबनानी सैनिक र संयुक्त राष्ट्रसंघका ३ इन्डोनेसियाली शान्ति सेनाले समेत ज्यान गुमाउनु परेको छ।

इराकमा पनि स्थिति तनावपूर्ण छ, जहाँ इरान निकट मिलिसिया, कुर्दिस लडाकु र केही विदेशी सदस्यसहित १०७ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन्।

आक्रमणको जवाफमा इरान र लेबनानबाट प्रहार गरिएका क्षेप्यास्त्रका कारण इजरायलमा हालसम्म १९ जनाको मृत्यु भएको छ। इजरायली सेनाले दक्षिणी लेबनानमा आफ्ना १० सैनिक मारिएको जानकारी दिएको छ भने सीमा क्षेत्रमा आफ्नै सेनाको असावधानीका कारण एक इजरायली किसानले ज्यान गुमाएका छन्।

युद्धमा प्रत्यक्ष संलग्न अमेरिकाले पनि आफ्ना १३ सैनिक गुमाएको छ, जसमा इराकमा भएको विमान दुर्घटना र इरानमा भएका सैन्य कारबाहीका क्रममा मारिएकाहरू समावेश छन्।

यो युद्धको प्रभाव खाडीका अन्य मुलुकहरूमा पनि देखिन थालेको छ। संयुक्त अरब इमिरेट्समा ११, कतारमा ७, कुवेतमा ७ र वेस्ट बैंक तथा सिरियामा ४–४ जनाको मृत्यु भएको छ। त्यसैगरी बहराइन, ओमान र साउदी अरबमा पनि मृत्युका घटना दर्ता भएका छन्।विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले यो मृत्युको तथ्याङ्क अझै बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

कमेन्टहरु