जुम्लामा सुक्खा पहिराे खस्दा तीन घरमा क्षति

रासस
२०८२ चैत्र १८ | मध्यान्ह ०४:१२ बजे

जुम्ला । हिमा गाउँपालिका–६ स्थित खल्ढुङ्गा गाउँमा सुक्खा पहिरो खस्दा तीन घरमा क्षति गरेको छ । मङ्गलबार खसेको पहिरोले उक्त वडाका स्थानीयवासी ललिजङ्ग अधिकारी र बुच्चो अधिकारीको घर पूर्ण रूपमा नष्ट भएको छ ।त्यसैगरी,स्थानीय नरजङ्ग अधिकारीको घर आंशिक रूपमा क्षतिग्रस्त भएको हिमा–६ वडाध्यक्ष उपराज अधिकारीले जानकारी दिए । पहिराले घरमा क्षति गरेका विस्थापित पीडितका घरपरिवार अहिले गाउँका स्थानीयवासीको घरमा बसेका छन् । वडाले राहतका लागि गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारदेखि विभिन्न सङ्घसंस्थालाई अनुरोध गरे पनि सहयोग अहिलेसम्म नमिलेको वडाध्यक्ष अधिकारीको भनाइ छ ।
यसअघि २०७९ साल असोजमा आएको अविरल वर्षाका कारण पनि सोही गाउँका छवटा घर पहिरोले बगाएको थियो । तर त्यसबेला पनि पीडितहरूले पर्याप्त राहत पाउन नसकेको वडाध्यक्षको गुनासो छ ।

















