बिश्व

इन्धनको चरम अभावबिच क्युबा पुग्यो रुसी जहाज

एजेन्सी
२०८२ चैत्र १८ | मध्यान्ह ०३:१२ बजे

हवाना । गम्भीर ऊर्जा अभाव झेलिरहेको क्युबामा रुसी ध्वजावाहक तेलको ट्याङ्कर आइपुगेको छ । करिब ७ लाख ३० हजार ब्यारेल तेल बोकेको एन्टोनली कोलोद्किन तीन महिनापछि क्युबा पुगेको पहिलो तेल ट्याङ्कर हो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले जारी ऊर्जा नाकाबन्दीका बाबजुद मानवीय कारण देखाउँदै उक्त ट्यांकरलाई यात्रा जारी राख्न अनुमति दिएको थियो । अफ्राम्याक्स वर्गको यो जहाज मंगलबार बिहान मटान्जासको खाडीमा प्रवेश गरेको हो । 

यो क्युबाकै प्रमुख इन्धन भण्डारण केन्द्र हो । अमेरिकी प्रतिबन्धमा रहेको उक्त ट्याङ्कर आइतबार राति क्युबाको समुद्री क्षेत्रमा प्रवेश गरेको थियो, जुन ग्वान्टानामो खाडी नजिकै पर्दछ । यस जहाजलाई मानवीय आवश्यकताका लागि इन्धन आपूर्ति गर्न अनुमति दिएको अमेरिकाले जनाएको छ । 

ट्याङ्कर बन्दरगाहमा आइपुग्दा क्युबाका धेरैजसो क्षेत्र अन्धकारमा डुबेका थिए । राष्ट्रपति मिगुएल डियाज–कनेलका अनुसार तीन महिनासम्म कुनै पनि तेल ट्याङ्कर नआउँदा देशको ऊर्जा सङ्कट झन् गहिरिएको छ । यसले अस्पताल,सार्वजनिक यातायात र कृषि क्षेत्रलाई समेत सङ्कटको अवस्थामा पुर्‍याएको छ ।

ऊर्जा तथा खानी मन्त्री भिसेन्टे डे ला ओ लेभीलगायत अधिकारीहरूले ट्याङ्करको आगमनलाई स्वागत गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत रुसप्रति आभार व्यक्त गर्दै जटिल ऊर्जा अवस्थाबिच आएको यो आपूर्ति अत्यन्त महत्त्वपूर्ण भएको बताएका छन् ।

कमेन्टहरु