प्रबास

जापानमा सम्बन्ध विच्छेद गरेको जोडीले पाउने भए बच्चाको संयुक्त अभिभावकत्व

एजेन्सी
२०८२ चैत्र १८ | मध्यान्ह ०१:१२ बजे

टोकियो । जापानमा सम्बन्धविच्छेद गरेका दम्पतीहरूले अब आफ्ना सन्तानको संयुक्त अभिभावकत्व (ज्वाइन्ट कस्टडी) लिन पाउने भएका छन् । जापानको नागरिक संहितामा गरिएको ऐतिहासिक संशोधन बुधबारदेखि कार्यान्वयनमा आएपछि यो सम्भव भएको हो ।

सन् २०२४ मा संसदबाट पारित यस संशोधनअघि जापान जी–७ देशहरूमध्ये संयुक्त अभिभावकत्वलाई कानुनी मान्यता नदिने एकमात्र देश थियो । त्यसअघि प्रायः अभिभावकत्व एकै जना—अधिकांश अवस्थामा आमालाई—दिइन्थ्यो, जसले अर्को अभिभावकलाई सन्तानसँग भेटघाट गर्नबाट समेत वञ्चित गर्न सक्थ्यो ।

यो एकल अभिभावकत्व प्रणालीविरुद्ध देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा आलोचना हुँदै आएको थियो। आलोचकहरूका अनुसार यसले धेरै सम्बन्धविच्छेद भएका अभिभावकहरूलाई आफ्नै सन्तानसँग टाढा बनाएको थियो । नयाँ कानुनअनुसार अब जापानको पारिवारिक अदालतले सम्बन्धविच्छेदको अवस्थामा एकल वा संयुक्त अभिभावकत्व दिने निर्णय गर्न सक्नेछ । यसअघि सम्बन्धविच्छेद भएका अभिभावकहरूले पनि आफ्नो अभिभावकत्व पुनरावलोकनका लागि अदालतमा निवेदन दिन पाउनेछन् ।

संशोधनले सम्बन्धविच्छेदपछि बालबालिकाको पालनपोषण खर्च (चाइल्ड सपोर्ट) अनिवार्य बनाएको छ । अब सन्तानसँग बस्ने अभिभावकले पूर्व–जीवनसाथीसँग मासिक २० हजार येनसम्म सहयोग माग्न सक्नेछन् । हालका वर्षहरूमा अभिभावकद्वारा सन्तान ‘अपहरण’ सम्बन्धी घटनाहरू चर्चामा आएपछि यस्तो व्यवस्था आवश्यक ठानिएको हो । २०२३ मा जापानी टेबल टेनिस खेलाडी ऐ फुकुहारामाथि उनका ताइवानेली पूर्व–पतिले छोरालाई टाढा राखेको आरोप लागेको थियो । तर पछि दुवैबीच सहमति भयो ।

त्यस्तै, २०२० को टोकियो ओलम्पिक्सको क्रममा जापानमै बसोबास गर्ने एक फ्रान्सेली बाबुले आफ्ना सन्तान ‘अपहरण’ गरिएको भन्दै ध्यानाकर्षण गर्न अनशनसमेत बसेका थिए । यद्यपि संयुक्त अभिभावकत्व व्यवस्था सबैका लागि सहज समाधान नहुने आशंका पनि गरिएको छ। केहीले यसले घरेलु हिंसाका घटनामा पीडित महिलाहरूलाई पूर्व–पति सँग सम्बन्ध कायम राख्न बाध्य पार्न सक्ने चिन्ता व्यक्त गरेका छन् । 

कमेन्टहरु