न्यायालय

कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

नवलपुर टुडे
२०८२ चैत्र १८ | बिहान ०८:१२ बजे

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएसँगै बुधबारदेखि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने भएकी छन्। 

वकालतमा ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशका रूपमा ८ वर्ष बिताएका राउत वि.सं २०८१ असोज २० मा प्रधानन्यायाधीश बनेका थिए । २०७३ साउन १७ गते न्यायाधीशका रूपमा प्रवेश गर्दा नै उनी प्रधानन्यायाधीशको रोलक्रममा थिए ।

भावी प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाँल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।

प्रधानन्यायाधीशले अवकाश पाउनुभन्दा एक महिना अगाडि संवैधानिक परिषद्को बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले नयाँ प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।

कमेन्टहरु