नेकपा एमालेका सचिव बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति


काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको छ। सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंले बस्नेतविरुद्ध पक्राउ पुर्जी माग गर्दै अदालतमा निवेदन दिएको थियो । तर अदालतले उक्त माग अस्वीकार गरेको हो ।
बस्नेतबाट पीडित भएको दाबी गर्दै शोभा पाठकले आइतबार प्रहरी परिसरमा पुनः जाहेरी दिएकी थिइन् । उनले बस्नेतमाथि जबरजस्ती करणी र भ्रूण हत्या गरेको आरोप लगाएकी छन् । यसअघि उक्त जाहेरीमाथि काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । सो निर्णय सदर गर्ने वा नगर्ने विषय अहिले उच्च सरकारी वकिल कार्यालय पाटनमा विचाराधीन छ ।
मुद्दा उच्च सरकारी वकिल कार्यालयमा विचाराधीन रहेकाले अदालतले मिसिल फिर्ता पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए । ‘तामेलीको निर्णय जिल्लाबाट उच्च सरकारी वकिलकोमा पुगेको हो। उच्चमा विचाराधीन नै रहेकाले जारी भएन । त्यहाँको निर्णय अनुसार थप प्रक्रिया अघि बढ्छ,’ उनले भने ।






















