१० महिनायताकै उच्च बिन्दुमा उक्लियो अमेरिकी डलर


वासिङटन डिसी । मुद्रा बजारमा अमेरिकी डलरको भाउ १० महिनायताकै उच्च बिन्दु नजिक उक्लिएको छ । इरान र अमेरिकाले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गर्ने सम्भावित वार्ताबारे धूमिल आशा व्यक्त गरेसँगै सोमबार डलरको भाउ उकालो लागेको हो । पश्चिम एसियामा थप अमेरिकी सेना आइपुगेको समयमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको नयाँ शासन ‘बढी नै तर्कसंगत’ भएको अभिव्यक्ति दिएका थिए ।
इरान युद्ध सुरु भएपछि मार्चको सुरु यता नै डलरले लगानीका लागि सुरक्षित मानिने सम्पत्ति (सेफ हेभन एसेट)को हैसियतबाट लाभ पाइरहेको छ । तेलको उच्च मूल्यका कारण जापान र यूरोजोन प्रभावित छन् । तर खुद तेल आयातकर्ता नभएकोले अमेरिका यस क्षतिबाट जोगिएको छ ।
सोमबार मुद्रा डालोमा आबद्ध प्रमुख मुद्राका तुलनामा अमेरिकी डलरको मूल्य मापन गर्ने डलर सूचक १०० दशमलव १९ अंकमा रहेको छ । मार्चको मध्यमा यो २०२५ को मेयताकै उच्च बिन्दुमा उक्लिएको थियो । यस महीना डलर गएको जुलाई यताकै सबैभन्दा ठूलो मासिक वृद्धिको बाटोमा छ । डलरमा मनोबल ‘म्याक्स बुलिश’ रहेको बेलायती बहुराष्ट्रिय बैंक बार्कलेजले भनेको छ ।
यूरोको भाउ भने १ डलर १५ सेन्ट आसपास छ । यो भनेको मार्चमा डलरको तुलनामा यूरोको भाउ साढे २ प्रतिशतको कमी आउने बाटोमा छ । हालैका दिनमा तेलको भाउ माथितिर बढ्न थालेपछि समग्रमा डलर बलियो बन्दा यूरो/डलरको विवनिमय दरमा तीव्र कमी आएको कमर्जबैंकमा फरेक्स र कमोडिटी रिसर्चका प्रमुख थु लान न्ग्युयेन भन्छिन् । यो परिदृश्य कायम रहँदासम्म डलर यूरो विनिमय दरमा कमी आउने सम्भावना सीमित रहेको उनले बताइन् ।
सोमबार जापानी येनको तुलनामा डलर शून्य दशमलव ४ प्रतिशतले बलियो हुँदै १५९ दशमलव ६५ येनमा पुगेको छ । एसियाली बजारमा यो दर १६० दशमलव ४७ सम्म पुगेको थियो । यो दर २०२४ को जुलाईयताकै कमजोर हो । तेलको भाउ बढ्ने चिन्तामा मार्चमा डलरको तुलनामा येनको भाउ २ प्रतिशतले घटेको थियो ।























