देश

सार्वजनिक यातायात प्रणाली सुधारः गाडीहरूमा क्यूआर राख्न सिफारिस

एजेन्सी
२०८२ चैत्र १६ | मध्यान्ह ०४:१२ बजे

काठमाडौं, चैत १६। सार्वजनिक यातायात प्रणालीमा व्यापक सुधार गर्न जरुरी रहेको सरकारी एक अध्ययन समितिले औँल्याएको छ । सरकारी कार्यदलले तयार पारेको सुशासन मार्गचित्रमा सार्वजनिक यातायात प्रणाली र सेवामा सुधार गर्न जरुरी रहेको भन्दै सरकारलाई विभिन्न सिफारिस गरेको हो ।

कार्यदलले यातायात क्षेत्रलाई प्रतिस्पर्धात्मक, व्यवस्थित र डिजिटल प्रविधिमा आधारित बनाउने उद्देश्यसहित सरकारी तथा निजी क्षेत्रको सहकार्यमा सुधार कार्यक्रम अघि बढाउने प्रस्ताव गरेको छ । सार्वजनिक यातायातमा नगदविहीन भाडा प्रणाली सञ्चालन तथा व्यवस्थापनका निम्ति आवश्यक पूर्वाधार तयार गर्न सिफारिस गरिएको छ ।मार्गचित्रानुसार, सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सरकारी निकाय र निजी पक्षबीच अधिकार, दायित्व र जोखिमको स्पष्ट बाँडफाँट हुने गरी नमुना सहमति ढाँचा तयार गरी निजी क्षेत्रसँग सेवा खरिदको ‘पाइलट’ कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।

रोकिएको क्यूआर कोडसहितको सवारीचालक अनुमतिपत्र सुरक्षण मुद्रण केन्द्रसँगको सहकार्यमा छपाइ गरी वितरण तथा यसको विकल्पका रूपमा डिजिटल माध्यमबाट प्रमाणित गर्न सकिने प्रमाणपत्रको प्रयोगको व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

यस्तै, विद्युतीय सवारीचालक अनुमतिपत्र तथा सवारी दर्ता प्रणाली विकास गरी सञ्चालन, सवारीचालक अनुमतिपत्र र सवारी दर्ता प्रमाणपत्रसम्बन्धी डाटाको सुरक्षित व्यवस्थापनका निम्ति डाटा केन्द्र र डाटा पुनर्प्राप्ति केन्द्र स्थापना गरी सञ्चालनको सिफारिस गरिएको छ ।

इम्बोस्ड नम्बर प्लेट जडान कार्यलाई निरन्तरता दिँदै थप व्यवस्थित बनाउने, यातायात क्षेत्रको रुट प्रोफाइलिङ गरी अन्तरप्रदेश रुट इजाजतलाई अनलाइन प्रणालीमा आबद्ध गर्ने प्रस्ताव पनि मार्गचित्रमा समेटिएको छ ।मार्गचित्रले यातायात सेवालाई गुणस्तरीय बनाउने तथा यो क्षेत्रमा सरकारी र निजी लगानीलाई प्रतिस्पर्धी र व्यावसायिक बनाउने लक्ष्य अघि सारेको छ ।

यसका साथै एकीकृत यातायात प्रणाली लागु गर्ने, राष्ट्रिय राजमार्ग तथा प्रमुख रुटहरूमा ठूला बस सञ्चालन र सहायक रुटमा मझौला एवं साना सवारीसाधन चल्ने गरी बस यातायात प्रणाली पुनर्संरचनाको प्रस्ताव गरिएको छ ।सार्वजनिक यातायात क्षेत्रमा लगानीको सुरक्षा प्रत्याभूति गर्दै सुधार योजना लागु गर्न पनि कार्यदलले सिफारिस गरेको छ ।

कमेन्टहरु