बिश्व

इरान युद्धको असरः एसियामा तेल अभाव, अमेरिका र युरोपमा पनि देखिनेछ असर

एजेन्सी
२०८२ चैत्र १६ | मध्यान्ह ०३:१२ बजे

हङकङ । पश्चिम एसियामा जारी युद्धका कारण प्रमुख इन्धन ढुवानी मार्ग स्ट्रेट अफ हर्मुज ठप्प प्रायः छ । विश्वको झन्डै २० प्रतिशत इन्धन ढुवानी हुने यो बाटोमा अवरुद्ध भएसँगै यसको असर विश्वभर देखिएको छ । 

इन्धनको भाउ बढेको छ भने आपूर्ति सीमित बनेको छ । देशहरूको तेल भण्डारण घट्दै गइरहेको छ । यसको असर एसियामा टड्कारो देखिन थालेको अमेरिकी बहुराष्ट्रिय लगानी बैंक जेपी मोर्गनले गत साता सार्वजनिक गरेको रिपोर्टमा दिएको छ ।

सामान्यतया, पर्सियन खाडीबाट तेल जहाजहरू एसियामा १०–२० दिनमा पुग्छन् । यहाँबाट जहाज युरोप र अफ्रिकामा पुग्न २०–३५ दिन लाग्छ । अमेरिकामा  ३५–४५ दिनमा मात्रै पुग्छन् । आपूर्तिमा उत्पन्न यो अवरोधका चपेटामा एशिया परेको र विस्तारै विस्तारै यो पश्चिमतर्फ सर्दै गइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ स्ट्रेट अफ हर्मुजबाट अन्तिम तेल ट्यांकर फेब्रुअरी २८ मा छुटेको थियो ।  यीमध्ये अधिकांश आपूर्ति खपत भइसकेका छन् ।

आपूर्ति अवरोधको सबैभन्दा ठूलो धक्का विशेषगरी दक्षिण पूर्वी एसियामा पर्नेछ । यसको असरले यस क्षेत्रमा मूल्य वृद्धि र तेलको अभाव दुबै उत्पन्न भइसकेको छ । पश्चिम एशियाबाट दक्षिण पूर्वी एसियामा तेलको आपूर्ति अघिल्लो महीनाको तुलनामा यस महीना ४१ प्रतिशतले घटेको छ । त्यसपछिको प्रभाव अफ्रिकामा देखिने छ । 

अप्रिलको शुरुमा प्रभाव झनै बढ्ने बताइएको छ । स्थानीय भण्डारण स्तर र आयातमा निर्भरता अनुसार प्रभाव फरक फरक पर्न सक्ने प्रतिवेदनले भनेको छ । केन्यामा खुद्रा स्तरमा इन्धन अभाव देखिएको छ भने तान्जानियामा पर्याप्त भण्डारण रहेको जेपी मोर्गनको भनाइ छ ।युरोपमा भने मध्य–अप्रिलसम्म असर महसुस हुन थाल्ने सम्भावना छ । यद्यपि, यहाँ ठुला भण्डारण छन् अनि अटलान्टा क्षेत्रबाट वैकल्पिक आपूर्तिको लाभ भने छ । 

सबैभन्दा पछाडि असर महसुस गर्ने भनेको अमेरिकाले हो । घरेलु उत्पादन पर्याप्त भएकोले छोटो अवधिमा यहाँ तेलको अभावको सीधा असर कम देखिन सक्नेछ । तर क्यालिफोर्निया आपूर्ति चुनौतीमा संवेदनशील छ । अमेरिकामा मूल्य उच्च रहिरहने सम्भावना पनि रिपोर्टले औँल्याएको छ । 

कमेन्टहरु