समाज

चैते धानमा वर्षाको साथ, उत्पादनमा आशा तर बजारमा चुनौती

रासस
२०८२ चैत्र १६ | मध्यान्ह ०३:१२ बजे

काठमाडौँ । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको वर्षाले चैते धान खेतीका लागि अनुकूल वातावरण सिर्जना गरेको छ । रोपाइँको मुख्य समयमा भएको यस वर्षाले उत्पादन वृद्धि हुने अपेक्षा गरिएसँगै किसानहरूमा आशा बढेको छ ।

प्रि–मनसुन साधारणतया मध्य फागुनदेखि मध्य जेठसम्मको अवधिलाई मानिन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार प्रि–मनसुन अवधिमा भएको वर्षा चैते धानका लागि निकै लाभदायक देखिएको छ । “यसपटकको वर्षाले रोपाइँको समयमा पर्याप्त चिस्यान उपलब्ध गराएको छ । बीउ सुक्ने समस्या छैन र खेतमा पानीको अभाव देखिएको छैन”, उनले भने ।

जोशीका अनुसार मौसमको यस्तो अनुकूलताले उत्पादन र उत्पादकत्व दुवैमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । उनले नेपालमा प्रत्येक वर्ष करिब एक लाख २० हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने गरेको जानकारी दिए । वार्षिक चार लाखदेखि पाँच लाख मेट्रिकटनसम्म उत्पादन हुने जोशीको भनाइ छ । धान उत्पादनमा चैते धानको योगदान करिब ५ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्क छ ।

चैते धानको खेती मुख्यतः तराई तथा भित्री मधेसका जिल्लाहरूमा केन्द्रित छ । जोशीका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, पर्सा, बर्दिया, कैलाली लगायत करिब २५ जिल्लामा यसको खेती गरिन्छ । “पछिल्लो समय मध्यपहाडी क्षेत्रका फाँटहरूमा समेत यसको विस्तार हुँदै गएको देखिएको छ, जसले उत्पादन क्षेत्र विस्तारको सङ्केत दिएको छ”, उनले भने, “उत्पादनका दृष्टिले सकारात्मक संकेत देखिए बजार व्यवस्थापन भने किसानका लागि चुनौतीपूर्ण बनेको छ । चैते धानको उचित मूल्य नपाएको गुनासो छ ।”

जोशीका अनुसार गत वर्ष प्रतिक्विन्टल रु तीन हजार ५०० सम्म बिक्री भएको धान यस वर्ष घटेर करिब दुई हजार ३०० मा झरेको बताइएको छ । मूल्यमा आएको यो गिरावटले किसानको लागत उठाउनसमेत कठिन भएको मन्त्रालयको भनाइ छ ।

जोशीका अनुसार विदेशी धानको आयात बढ्नु नै मूल्य घट्नुको प्रमुख कारण हो । आयातित धानका कारण स्वदेशी उत्पादनले बजार प्रतिस्पर्धा गर्न नसकेको स्थिति रहेको छ । यसले किसानलाई निरुत्साहित बनाउने खतरा समेत देखिएको छ ।

मन्त्रालयले भने उत्पादन वृद्धि र आयात प्रतिस्थापनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । उन्नत जातका बिउहरू—जस्तै ‘चैत–५’ र ‘हर्जिनाथ हाइब्रिड’ किसानलाई अनुदानमा वितरण गरिएको छ । यी जातहरू उच्च उत्पादन दिने भएकाले किसानहरूमा आकर्षण बढ्दै गएको छ ।

यस्तै, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममार्फत यान्त्रिकरणलाई प्राथमिकता दिँदै मेसिनबाट धान रोपाइँ गर्ने प्रविधि विस्तार गरिँदैछ । यसले श्रम अभावको समस्या समाधान गर्नुका साथै उत्पादन लागत घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । सिँचाइ संरचना विस्तार, आधुनिक कृषि प्रविधिको प्रयोग तथा प्रभावकारी बजारीकरणको व्यवस्था गर्न सकेमा चैते धान खेती अझ सुदृढ बन्ने कृषि विज्ञहरू बताउँछन् । विशेषगरी तराई क्षेत्रमा पर्याप्त सिँचाइ सुविधा विकास गर्न सके उत्पादनमा उल्लेखनीय वृद्धि हुने विश्वास गरिएको छ ।

चैते धानले खाद्य विविधिकरणमा समेत महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । यसबाट चिउरा, भुजा लगायतका परिकार उत्पादन गर्न सकिने भएकाले यसको व्यावसायिक सम्भावना अझ व्यापक रहेको छ । चैते धान उत्पादनले वर्षे धानमा निर्भरता कम गर्दै खाद्य सुरक्षामा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

यस वर्षको अनुकूल मौसमले उत्पादनमा सकारात्मक सङ्केत देखाए पनि बजार मूल्यको समस्या समाधान नगरेसम्म किसानले अपेक्षित लाभ लिन सक्ने अवस्था भने अझै चुनौतीपूर्ण नै रहने देखिएको राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा मथुरा यादवले बताए । “चैते धान प्रवर्द्धन कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेमा र बजार सुनिश्चित हुन सकेमा मात्रै कृषकलाई थप प्रोत्साहन मिल्नेछ । बजार माग बढ्ने क्रममा छ”, उनले भने ।

चालु आर्थिक वर्ष २०८२/८३ मा चैते धान खेतीका लागि सिँचाइ पूर्वाधार विकास गर्ने सरकारको लक्ष्य छ । यसका लागि सरकारले रु ३३ करोड बजेट विनियोजन गरेको छ ।

बर्खे धान उत्पादनमा ह्रास

बर्खे धान रोप्ने समयमा खडेरी परेपछि यसपटक धान उत्पादनमा कमी आएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । विशेषगरी कोशी र मधेस प्रदेशमा परेका खडेरीका कारण उत्पादनमा कमी आएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा जानुका पण्डितका अनुसार आर्थिक वर्ष २०८१/८२ मा धान बाली भित्राइएको कुल क्षेत्रफल १४ लाख २० हजार ६३६ हेक्टर रहेको थियो । चालु आवमा ३.८ प्रतिशतले घटेर १३ लाख ७६ हजार ८७२ हेक्टर क्षेत्रफल कायम रहेको मन्त्रालयको अनुमान छ ।

यसैगरी आव २०८१/८२ मा ५९ लाख ५५ हजार ४७६ मेट्रिकटन उत्पादन भएकोमा चालु आवमा ४.२० प्रतिशतले कमी भई ५७ लाख पाँच हजार १२६ मेट्रिकटन उत्पादन भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यसैगरी उत्पादकत्व गत आवमा ४.१९ मेट्रिकटन प्रति हेक्टर रहेकोमा आव २०८२/८३ मा १.१६ प्रतिशतले घटेर ४.१४ मेट्रिकटन प्रति हेक्टर पुगेको छ ।

उत्पादन घट्नुका कारणहरू

मन्त्रालयका प्रवक्ता पण्डितका अनुसार धान बालीको क्षेत्रफलमा कमी आउनुमा मुख्यगरी पहाडी क्षेत्रमा देखिएको बसाइँसराइ, युवाहरूको विदेशतर्फ आकर्षण एवं फलफूल तथा नगदेबालीको क्षेत्रफलमा भएको वृद्धि छन् भने तराई एवं सहरी क्षेत्रमा बढिरहेको आप्रवासन, जमिनको औद्योगिक एवं अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग जस्ता कारणले धानबालीको क्षेत्रफलमा केही कमी आएको छ ।

“यसैगरी मधेस प्रदेशमा विशेषगरी धान लगाउने समयमा परेको खडेरीका कारण धान लगाएको क्षेत्रफलमा कमी आई समग्र क्षेत्रफल घटेको हो”, उनले भने, “यस आर्थिक वर्षमा उन्नत बीउविजन र मलखादको पर्याप्त उपलब्धता हुँदाहुँदै प्रतिकूल मौसमका कारण उत्पादकत्वमा केही कमी आएको छ । क्षेत्रफल र उत्पादकत्व दुवैमा कमी आएकाले समग्र धान उत्पादन घटेको हो ।”

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुको आंशिक प्रभावका साथै पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको असर देखिएको छ ।

लामिछानेले आज सोमबार देशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने बताए । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा तथा मधेस प्रदेशसहित अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

“आज राति पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ”, उनले भने, “मंगलबार दिउँसो कोशी र मधेस प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली रहनेछ । कोशी प्रदेशलगायत देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।”

मङ्गलबार राति भने हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।

त्यसैगरी बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । विभागले मेघगर्जन, चट्याङ, हावाहुरी र असिनाबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

कमेन्टहरु