इरानमा ‘सत्ता परिवर्तन’ भएको ट्रम्पको दाबीःभन्छन्- सम्झौता नभए देश नै रहने छैन


काठमाडौं , चेत १६।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको शीर्ष नेतृत्वमाथि भएको आक्रमणलाई सत्ता परिवर्तन सरह भएको बताएका छन्। पूर्व सर्वोच्च नेता अली खामेनीसहित दर्जनौँ शीर्ष अधिकारीहरू मारिएको घटनालाई उनले ‘पुरानो शासनको पतन’ को रूपमा चित्रण गरेका हुन्।
खामेनीका छोरा तथा उत्तराधिकारी मोज्तबा खामेनी सम्पर्कविहीन रहेको ट्रम्पले उल्लेख गरेका छन्। ‘उनी जीवित हुन सक्छन्, तर उनी गम्भीर घाइते छन्,’ उनले भने। मोज्तबा युद्धको पहिलो दिन भएको आक्रमणमा घाइते भएको ठानिएको छ।
ट्रम्पले इरानले आणविक हतियार पूर्ण रूपमा त्याग्नुपर्ने सर्त राख्दै देश नरहने चेतावनी समेत दिएका छन्। उनले भने, ‘यदि उनीहरूले सम्झौता गरेनन् भने उनीहरूको देश रहने छैन।’ उनले इरान पछिल्लो समय ‘व्यावहारिक’ भएको टिप्पणी समेत गरे। इरानले होर्मुज जलमार्ग हुँदै थप २० वटा तेल ट्यांकर जान दिन सहमति जनाएको उनले दाबी गरेका छन्। यसले वार्ताको सकारात्मक वातावरण बनाउने ट्रम्पको बुझाइ छ।






















