कृषि विषयको अनुसन्धानार्थ पाँच लाख सहयोग


सुर्खेत । कर्णाली प्रदेश सरकारले कृषि विषयको अनुसन्धानमा सहयोग पुर्याउनका लागि रु पाँच लाख उपलब्ध गराएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय, सुर्खेतले चालु आर्थिक वर्ष २०८२/८३ मा मध्यपश्चिम विश्वविद्यालयको कृषि क्याम्पस सुर्खेतसँगको सहकार्यमा प्राविधिक परिचालनसहित प्रविधि प्रसार कार्यक्रमअन्तर्गत उक्त सहयोग गरिएको निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए ।
नेपाल जस्तो कृषिको सम्भाव्य मुलुकमा पछिल्लो समयमा कृषि अध्ययन गर्ने जनशक्तिको अभाव र आवश्यकतालाई मनन् गरी प्रदेश सरकारले प्राविधिक जनशक्ति उत्पादनमा जोड दिएको उनले बताए ।
निर्देशक रोकायका अनुसार निर्देशनालयले कृषि क्याम्पससँग सम्झौता गरेर चालु आर्थिक वर्षमा पाँच विद्यार्थीलाई अध्ययनको व्यवस्था गरेको छ । अध्ययनमा सहभागी सुर्खेतका दुई तथा डोल्पा, मुगु र तनहुँका एक÷एक विद्यार्थी रहेका निर्देशनालयले जनाएको छ ।






















