समाज

विजयनगरमा थारु समुदायका अगुवा ‘बडघर’लाई क्षमता विकास तालिम

नवलपुर टुडे
२०८२ चैत्र १५ | मध्यान्ह ०७:१२ बजे

गौतम यादव

कपिलवस्तु ।  कपिलवस्तुको विजयनगर गाउँपालिकामा थारु समुदायका अगुवा ‘बडघर’ हरूका लागि सञ्चालन गरिएको ३ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा थारु समुदायको परम्परागत नेतृत्व प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख रेनु पाण्डेले तालिमले समुदायका अगुवाहरूलाई नेतृत्व विकास, विवाद समाधान, सामाजिक न्याय तथा स्थानीय शासनसँग समन्वय गर्ने विषयमा महत्वपूर्ण ज्ञान र सीप प्रदान गरेको बताइन् । तालिममा कानुनी सचेतना, कानुनी प्रक्रिया तथा विद्यमान कानुनी व्यवस्थाबारे पनि जानकारी दिइएको थियो ।

सरकारी वकिल कार्यालयका सह-न्यायधिवक्ता बुद्ध बहादुर थापाको सहजीकरणमा सञ्चालन भएको तालिममा सहभागीहरूले सक्रिय सहभागिता जनाएका थिए । समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले परम्परागत बडघर प्रथालाई समयानुकूल परिमार्जन गर्दै कानुनसम्मत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । उनले तालिमबाट प्राप्त ज्ञानले समुदायस्तरमा देखिने समस्याहरू समाधान गर्न थप सहज हुने विश्वास व्यक्त गरे ।

त्यस्तै उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले थारु समुदायको मौलिक संस्कृति संरक्षणसँगै बडघर प्रथालाई व्यवस्थित र प्रभावकारी बनाउने दिशामा यस्ता तालिमहरू उपयोगी हुने बताइन् । तालिममा सहभागी बडघरहरूले प्राप्त ज्ञान र अनुभवलाई व्यवहारमा लागू गर्दै समुदायको विकास र सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रमलाई थारु समुदायका अगुवा तथा थारु कल्याणकारीणी सभा जिल्ला अध्यक्ष पवन कुमार थारु, शिवराज नगरका अध्यक्ष प्रकाश थारुले सहजीकरण गरेका थिए । सहभागीहरुलाई प्रमाण-पत्रसमेेत वितरण गरिएको छ ।

कमेन्टहरु