प्रबास

किम जोङ उनद्वारा ठोस इन्धन रकेट इन्जिन र नयाँ ट्याङ्कको निरीक्षण

एजेन्सी
२०८२ चैत्र १५ | मध्यान्ह ०४:१२ बजे

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उन कार्बन–फाइबर सामग्री प्रयोग गरेर बनाइएको ठोस–इन्धन रकेट इन्जिनको भूमिगत परीक्षणमा सहभागी भएका छन् । यस क्रममा उनले विशेष अभियान बलको तालिम र नयाँ युद्ध ट्याङ्कको पनि निरीक्षण गरेको सरकारी समाचार संस्था केसीएनएले समाचार छापेको छ । 

एजेन्सीका अनुसार नयाँ हाई–थ्रस्ट ठोस इन्धनमा आधारित इन्जिनले अधिकतम २ हजार ५०० किलो न्युटनको थ्रस्ट उत्पादन गर्न सक्छ । यो परीक्षण पाँच वर्षे नयाँ रक्षा विकास योजनाको हिस्सा हो । यो योजनाको उद्देश्य देशको रणनीतिक आक्रमण क्षमतालाई आधुनिकीकरण गर्नु रहेको बताइएको छ ।

किमले यस परीक्षणलाई उत्तर कोरियाका रणनीतिक बलको आधुनिकीकरणका लागि महत्त्वपूर्ण कदम भएको बताएका छन् । पछिल्ला महिनाहरूमा उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्धका हुँदा हुँदै पनि विभिन्न हतियार प्रदर्शन र सैन्य निरीक्षणहरू तीव्र रूपमा बढाएको छ । यसमा परम्परागत सेना र मिसाइल शस्त्र भण्डार दुवैको आधुनिकीकरणमा जोड दिइएको देखिन्छ ।

किमले विशेष अभियान बलको तालिम केन्द्रको निरीक्षण गर्दै आधुनिक युद्धका लागि शान्ति समयमा कडा तालिमको आवश्यकता औँल्याएको अर्को छुट्टै समाचारमा केसीएनएले भनेको छ । उनले देशको विशेष अभियान बलको पुनःसंगठनका योजनाहरू पनि प्रस्तुत गरेका छन् । 

त्यस्तै, किम नयाँ मुख्य युद्ध ट्याङ्कको परीक्षणमा पनि सहभागी भएका थिए । उक्त ट्याङ्कको सक्रिय सुरक्षा प्रणालीले लगभग सबै विद्यमान एन्ट–ट्याङ्क हतियारहरूलाई रोक्न सक्षम रहेको र विश्वमा यस ट्याङ्कसँग प्रतिस्पर्धा गर्ने अर्को कुनै ट्याङ्क नै नभएको दाबी किमले गरेको समाचारमा भनिएको छ । 

कमेन्टहरु