कन्जर्भेटिभको सम्मेलनमा रेजा पहलवीले के भने ?


वासिङ्टन डीसी । इरानका अन्तिम शाहका निर्वासित छोरा रेजा पहलवीले अमेरिकामा आयोजित कन्जर्भेटिभ पोलिटिकल एक्शन कन्फ्रेन्स (सीपीएसी)मा सम्बोधन गरेका छन् । उक्त सम्मेलन लामो समयदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूको प्रभावशाली मञ्च मानिन्छ ।
‘इरान स्वतन्त्र भयो भने अमेरिकाले फेरि एउटा महान् मित्र प्राप्त गर्छ,’ उनले भने । भविष्यमा बन्धक बनाउने काम अन्त्य हुने, स्ट्रेट अफ होर्मुज बन्द नगर्ने र विश्व समुदायलाई दबाब नदिने इरानको परिकल्पना पनि प्रस्तुत गरेका थिए ।
पहलवीको धारणा अमेरिकामैत्री भए पनि ट्रम्पले उनको सम्भावित नेतृत्वप्रति शङ्का व्यक्त गरेका छन् । इरानले पहलवीको नेतृत्व स्वीकार गर्छ कि गर्दैन आफू निश्चित नभएको ट्रम्पले यसै महिनाको सुरुमा बताएका थिए । उनले इरानभित्रकै कुनै व्यक्तिले नेतृत्व गर्नु उपयुक्त हुने बताएका थिए । तर उनले नेतृत्व कसलाई दिने भनेर स्पष्ट पारेनन् ।
पहलवीका पिता मोहमद रेजा पहलवीको सत्ता इरानी क्रान्तिले उखेलेर फ्याँकेको थियो । उक्त आन्दोलनलाई मुख्यतः आयतुल्ला रुहाल्लोह खामेनीले नेतृत्व गरेका थिए । खामेनीले इरानमा इस्लामिक गणतन्त्र स्थापना गरेका थिए । त्यसबेलाको शासनप्रणाली, आर्थिक समस्या र धर्मनिरपेक्ष नीतिप्रति असन्तुष्ट विभिन्न समूहहरूको व्यापक समर्थनले शाह शासनको अन्त्य गराएको थियो।






















