खेलकुद

दोस्रो राइनो मुवाथाईमा भारतविरुद्ध नेपाली खेलाडी हाबी

नवलपुर टुडे
२०८२ चैत्र १५ | मध्यान्ह ०२:१२ बजे
चितवन । दोस्रो राइनो मुवाथाई च्याम्पियनसिप सम्पन्न भएको छ । राइनो मुवाथाई जिम फिटनेस सेन्टरको आयोजनामा नारायणगढस्थित होटल सिद्धार्थमा भएको प्रतियोगिताको प्रो बाउटमा भारतविरुद्ध नेपाली खेलाडीहरु हाबी भएका छन् ।

नेपाल र भारतबीच भएको ४ मध्य ३ फाइटमा नेपाली खेलाडीहरु विजयी भए । भारतले एक फाइट मात्रै जित्यो । जस अन्तर्गत मेन इभेन्टको ६० केजी तौलतर्फ नेपालका रोहित कायत च्याम्पियन बने । उनले भारतका मोइराङथेम सनहललाई हराउँदै उपाधि जिते । दोस्रो राउण्डमा उनले भारतीय खेलाडीलाई नकआउट गरे ।

यस्तै ५७ केजीमा नेपालका रोशन अछामी विजयी भए । भारतका जेरो मेईतेईलाई हराउँदै उनले उपाधि जितेका हुन् । ७० केजीतर्फ नेपालका सागर परियार विजयी भए । उनले भारतका पराजित मेइतेइलाई हराए । भारतले ६३ केजीमा एक मात्र जित हात पार्‍यो । ६३ केजीतर्फ भारतका ता खेलम बम विजयी भए । उनले नेपालका लव कुमारलाई पराजित गरे ।

उता ६० केजीतर्फ लेखनाथ मुवाथाईका मोसेस कुमाल विजयी भए । उनले हिट किकबक्सिङका सुबाश बुढालाई हराए । ४५ केजीतर्फ जिमखानाकी पारिका बतास विजयी भईन् । उनले एपिएफकी रिना माझिलाई पराजित गरिन् ।

उता ६० केजीतर्फ हिट एण्ड रनका अनुप कुटाल विजयी भए । उनले राइनो मुवाथाईका विपिन श्रेष्ठलाई हराए । ५७ केजीमा जिमखानाका आशिष तामाङ विजयी भए । उनले किलरका सुमन याखालाई पराजित गरे ।

प्रतियोगिताको मेन ईभेन्टमा ८, सेमिप्रोमा ७ र ईम्याचुअरतर्फ १५ फाईट भएको आयोजक राइनो मुआथाई जिम फिटनेस सेन्टरका अध्यक्ष विज्ञान दराईले जानकारी दिए । चितवनमा पहिलो पटक अन्तराष्ट्रिय मुवाथाई च्याम्पियनसिप भएको हो । पहिलो संस्करण राष्ट्रिय स्तरको थियो भने यस पटक अन्तराष्ट्रिय स्तरको प्रतियोगिता आयोजना भएको हो ।      

 

कमेन्टहरु