समाचार

चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

रासस
२०८२ चैत्र १५ | मध्यान्ह ०१:१२ बजे

चितवन, चैत १५। यहाँस्थित कालिका नगरपालिकाले आजदेखि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरुआत गरेको छ ।नगरपालिकाका प्रमुख विनोद रेग्मीका अनुसार आजदेखि नियमित काम नयाँ भवनबाट सुरु गरिएको जानकारी दिनुभयो । निर्माणको छ वर्षपछि भवन सम्पन्न भएको हो । निर्माण कम्पनीले विसं २०७६ फागुन १५ गते दुई वर्षभित्र काम सम्पन्न गर्नेगरी ठेक्का लिएको थियो । निर्धारित समयमा काम नसकिएपछि चारपटक म्याद थप गर्दै अन्तिम म्याद २०८१ कात्तिक ३० गतेसम्म पुर्‍याइएको थियो ।

नगरपालिकाले म्याद थप नगरी जरिवाना लिने निर्णय कार्यपालिकाको बैठक र परिषद्बाट गरेको छ । नगरपालिकाले निर्माण कम्पनीसँग रु एक करोड १६ लाख जरिवाना गरेको छ । प्रमुख रेग्मीका अनुसार रु ११ करोड ५६ लाखको लागतमा आधुनिक नयाँ भवन निर्माण गरिएको हो ।

विसं २०७२ असोज १ गते स्थापना भएको नगरपालिकाले १० वर्षपछि आफ्नै भवनबाट सेवा सुरुआत गरेको हो । नयाँ भवन आधुनिक सुविधासम्पन्न रहेको छ । भवनमा सभाहल, नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सचिवालयसहित कार्यकक्ष तयार गरिएको छ । साथै आर्थिक, स्वास्थ्य, कृषि तथा पशुसेवा, सामाजिकलगायत सबै शाखाले यही भवनमार्फत सेवा प्रदान गर्नेछन् ।

साविकको जुटपानी, पदमपुर, शक्तिखोर र सिद्धि गाउँविकास समिति समायोजन गरी यस नगरपालिका बनाइएको हो । यस नगरपालिकाको जनसङ्ख्या ५२ हजारभन्दा बढी रहेको छ । यहाँ ब्राह्मण, चेपाङ, तामाङ, थारु, क्षेत्रीलगायत विभिन्न जातजाति र समुदायको मिश्रित बसोबास छ । नगरपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा दिएसँगै नगरवासीलाई सेवा लिन र कर्मचारीलाई काम गर्न सहज भएको नगर प्रमुख रेग्मीले बताउनुभयो । 

कमेन्टहरु