कार्की प्रतिवेदन आफैंमा छानविनको दायरामा छ, ओली र लेखक पक्राउ गरेर विरता देखाइयोः अध्यक्ष मिश्र


काठमाडौं,चैत १४। नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको पक्राउ कानुन अनुसार नभएको प्रतिक्रिया दिएका छन् ।उनले गौरी बहादुर कार्कीको अनुसन्धान प्रतिवेदन नै छानविनको दायरामा रहिरहेकाबेला हतारमा ओली र लेखक पक्राउ गरिनु कानुन सम्मत नदेखिएको बताएका हुन् ।
अध्यक्ष मिश्रले यसअघि एक सार्वजनिक कार्यक्रममा दुई तिहाइ बहुमतको सरकारको आडमा न्यायपालिकामाथि हस्तक्षेप गरिए नेपाल बार एसोसिएसनले स्पष्ट रूपमा प्रतिवाद गर्ने चेतावनी दिएका थिए । उनले नयाँ सरकारलाई प्रारम्भमा सकारात्मक दृष्टिकोणबाट हेर्ने तर संविधान र कानुनको शासन विपरीत कदम चालिए कडा रूपमा उभिने बताएका हुन्।
मिश्रले नेपालमा दुई तिहाइ सरकार बनेपछि न्यायपालिकामाथि दबाब पर्ने प्रवृत्ति देखिँदै आएको उल्लेख गर्दै त्यसप्रति सतर्क रहनुपर्ने आवश्यकता औल्याएका थिए ।
मन्त्रिपरिषद्को निर्णयपछि गृहमन्त्री सुधन गुरुङको निर्देशनमा ओलीलाई शनिबार बिहान भक्तपुरबाट र लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो ।न्यूज बैंक






















