पर्यटन

गुराँस हेर्न पर्यटक घोडेपानीमा

रासस
२०८२ चैत्र १४ | बिहान ०९:१२ बजे

म्याग्दी, चैत १४। ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ ।वसन्त ऋतुको आगमनसँगै पाखाभरी ढकमक्क लालीगुराँस फुलेर मनमोहक र आकर्षक बनेको घोडेपानी प्रकृतिप्रेमी पर्यटकहरुको रोजाइमा परेको छ । घोडेपानीका होटल व्यवसायी हेमन्त वुद्धुजा पुनले गुराँसको सौन्दर्यमा रमाउन आएका पाहुनाहरुले दुई दिनयता होटलहरु भरिभराउ भएका बताउनुभयो।

“चैतेदसैँ, रामनवमी र शनिबार गरी लगातार तीन दिनको बिदा मनाउनका लागि पोखरा, म्याग्दी र काठमाडौँलगायतका ठाउँबाट आएका पाहुनाहरुले होटलहरु भरिएका छन्,” उहाँले भन्नुभयो, “गुराँस फुलेर रंगिएको घोडेपानीको वनपाखा, सूर्योदय, हिमशृङ्खला अवलोकन गर्ने पाहुनाको रोजाइमा घोडेपानी परेको छ ।”

घोडेपानीका २७ वटा होटलमा एक दिनमा एक हजार जनाभन्दा बढी बास बस्न सक्छन् । समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा रहेको घोडेपानीको जङ्गलमा ढकमक्क लालीगुराँस फुलेपछि मनमोहक बनेको छ ।

घोडेपानीको शिरमा रहेको पुनहिलमा चियापसल र प्रवेशशूल्क सङ्कलनको जिम्मा पाएका व्यवसायी सुदीप पुर्जाका अनुसार शुक्रबार मात्रै चार सय जना नेपाली र ५० जना विदेशी भ्रमणमा त्यहाँ पुगेका छन् । हप्तादिनअघि दैनिक दुई सय जनाको हाराहारीमा पाहुनाहरु आइरहेको उहाँले बताउनुभयो ।

चैत–वैशाख गुराँस फुल्ने याम हो । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय गन्तव्यमा समेटिएको घोडेपानी भ्रमणमा आउने पर्यटकका लागि वसन्त ऋतुको प्रमुख आकर्षण गुराँस हो । पुनहिलमा सूर्योदय र हिमशृङ्खलाको दृश्य अवलोकन गर्न जाने बाटोमा गुराँसको जङ्गल छ । यहाँ रातो, सेतो, चिमाली, सिमालीलगायत जातका गुराँस पाइन्छ ।

पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धौलागिरी, गुर्जा, अन्नपूर्ण, माछापुच्छे«लगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ । विश्वमा ४२ प्रजातिको गुराँस पाइन्छ । त्यसमध्ये नेपालमा ३२ प्रजातिका छन् । लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययनअनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइने अन्नपूर्ण गाउँपालिकाका पुर्व अध्यक्ष समेत रहेका घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताउनुभयो ।

एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जङ्गल गण्डकी प्रदेशकै ठूलो भएको उहाँको दाबी छ । घोडेपानी बस्तीको सिरानबाट पश्चिमोत्तर आधा घण्टा गुराँसे जङ्गलभित्र पैदल हिँडेपछि कालीसारस्थित गुराँस पार्क पुगिन्छ । गुराँसले ढाकेको वनमा चराको आवाज सुनेर डुल्दा रमाइलो महसुस र तनावमुक्त बनेको बेनीका अमृत कार्कीले अनुभव सुनाउनुभयो ।

स्वच्छ हावापानी र शान्त वातावरणले तन\मन चङ्गा बनाएको पोखराबाट घोडेपानी घुम्न गएका दिया थापाले बताउनुभयो । गुराँस, चराको चिरबिर आवाज र हिमालको दृश्यले लट्ठै बनाएको उहाँले अनुभव सुनाउनुभयो । पाहुनाहरुले गुराँसको जंगललाई पृष्ठभूमिमा पारेर भिडियो\ तस्बिर खिचाएर आनन्द लिन्छन् ।

घोडेपानीबाट ४५ मिनेट उकालो हिँडेपछि पुगिने समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिल सूर्योदय र हिमालको दृश्यावलोकनका लागि प्रसिद्ध गन्तव्य हो । गुराँस पार्कबाट थप १५ मिनेट अगाडि बढेपछि गुराँसकै जङ्गलभित्र रहेको सुन्दर प्यारीबराह ताल पुगिन्छ ।

त्यहाँबाट फर्कंदा प्यारीबराहबाट भलखराचौरहुँदै ४० मिनेटमा घोडेपानी बस्तीको पुछारमा आइपुगिन्छ । घोडेपानीको सिरानबाट कालीसार गुराँस पार्क हुँदै प्यारीबराह ताल पुगेर भल्खराकोबाट तल्लो बाटो हुँदै घोडेपानी साइक्लिङ गर्न सकिन्छ । प्यारीबराहबाट घोडेपानीसम्मको घोडचढी ९पोन्नी ट्रेल०मा जान सकिन्छ ।

घोडेपानीमा एक रात बास बसेको, बेलुकाको खाना, बिहानको खाजासहित रु नौ सय ५० देखि एक हजार ६०० को प्याकेज बनाइएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार, शिख, चित्रे हुदै २१ किलोमिटर दुरीका पुगिने घोडेपानीमा पोखरादेखि बस सञ्चालन हुन थालेको छ ।

कास्कीको नयाँपुलदेखि बिरेठाँटी–उल्लेरी हुदै घोडेपानी जोड्ने कच्चि सडक पनि गत कात्तिकदेखि सञ्चालनमा आएको छ । घान्द्रुक, उल्लेरी, शिख, मोहरेडाडा तर्फबाट घोडेपानी पुग्न सकिने पदमार्गहरु रहेका छन् । अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले पदमार्गको संरक्षण, पुननिर्माण, सडक स्तरोन्नति र सहायक गन्तब्यको पहिचान गरि पूर्वाधार निर्माणमा जोड दिइएको बताउनुभयो ।

“सडकमार्ग भएर मुस्ताङ जाने–आउने पर्यटकहरुलाई घोडेपानी भित्र्याउन पोखरेबगरदेखि कास्कीको नयाँपुल जोड्ने वैकल्पिक सडक सञ्चालनमा आएका कारण स्वदेशी पर्यटकको आगमन बढेको छ,” उहाँले भन्नुभयो “घोडेपानीमा पर्यटकको बसाई लम्बाउन ‘गुराँस पार्क’, घोडामार्ग, साइकल मार्ग र सहायक गन्तव्यको पहिचान गरी पूर्वाधार निर्माणमा जोड दिएका छौ ।” 

कमेन्टहरु